काठमाडौं। लक्ष्मी सनराइज बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभा आज काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा भव्य रूपमा सम्पन्न भएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष रमण नेपालको अध्यक्षतामा सम्पन्न सभाले सेयरधनीका लागि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसअन्तर्गत १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश रहनेछ।
साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात तथा सोही अवधिको आर्थिक वर्ष २०८१/८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू (सहायक कम्पनीसहित) छलफल गरी स्वीकृत गरेको छ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरिएको छ।
सभाले बैंकको सञ्चालक समितिको संरचनामा हेरफेर गर्ने निर्णय गर्दै प्रबन्धपत्र तथा नियमावली संशोधनसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ। प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट सुझाव वा परिवर्तन आएमा आवश्यक समायोजन गर्न सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अधिकार प्रदान गरिएको छ।
साधारणसभामा सहभागि अधिकांश सेयरधनीहरूले बैंकको सञ्चालक समिति र व्यवस्थापनको कार्यसम्पादनप्रति खुलेर प्रशंसा व्यक्त गरेका थिए।
आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३७१ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै २८७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। सो अवधिमा बैंकको वासलात आकार ४४३ अर्ब रुपैयाँ पुगेको छ भने ४ अर्ब ६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।





