श्रमज्योति बचत तथा ऋण सहकारीको २५औं वार्षिक साधारणसभा सम्पन्न



१५ मंसिर, काठमाडौं । श्रमज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारणसभा मंसिर १३ गते शनिबार काठमाडौंमा सम्पन्न भएको छ। सभाको अध्यक्षता संस्थाका अध्यक्ष तीर्थराज न्यौपानेले गरेका थिए।

कार्यक्रमको उद्घाटन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले गरेका थिए। उनले सहकारीले सदस्यहरूको हित संरक्षण र व्यवसाय विस्तारमा हासिल गरेको प्रगतिको प्रशंसा गर्दै संस्थालाई धन्यवाद व्यक्त गरे।

सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, वित्तीय प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन तथा आगामी वर्षका नीति–कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।

गएको आर्थिक वर्षमा संस्थाको कुल सम्पत्ति तथा दायित्व १ अर्ब ४१ करोड १९ लाख ४२ हजार रुपैयाँ पुगेको र खुद आय ३ करोड १८ लाख २८ हजार रहेको जानकारी प्रस्तुत गरिएको थियो। संस्थाको शेयर पूँजी १० करोड ४० लाख ४ हजार रहेको छ भने सो वर्षमा २ करोड ४२ लाख ६५ हजार रुपैयाँ खुद मुनाफा आर्जन भएको छ।

अध्यक्ष न्यौपानेले सहकारी स्थापनाको २६ वर्षको यात्रा पूरा गर्दासम्म संस्थाले उल्लेखनीय फड्को मारेको बताए। उनले नीति, विधि, पद्धति तथा स्वनियन्त्रणलाई प्राथमिकतामा राखेर सञ्चालन भएकै कारण वित्तीय कारोबार, भौतिक संरचना र अन्य सूचकहरू सुदृढ बनेको उल्लेख गरे।

उनका अनुसार सहकारी क्षेत्रले सामना गरिरहेका नयाँ चुनौतीबीच संस्थाले आफ्ना सवल पक्षलाई अवसरका रुपमा उपयोग गर्दै दीर्घकालीन व्यवसायिक रणनीतिहरू कार्यान्वयन गर्ने तथा संस्था र सदस्यहरूको हित अभिवृद्धिमा केन्द्रित रहने प्रतिबद्धता रहेको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १५ गते आइतवार