काठमाडौं । जेन–जी अभियन्ता सुदन गुरुङले बिहीबार नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेका छन्।
गुरुङका अनुसार भेटमा उनले सबै वैकल्पिक राजनीतिक शक्ति एकताबद्ध हुनुपर्ने प्रस्ताव राखे, जसप्रति रवि सकारात्मक देखिए। “हामी मिल्न तयार छौँ, तपाईंहरूले समन्वय गरिरहनुस्,” रविलाई उद्धृत गर्दै गुरुङले बताए।
रविले सहकारी प्रकरणमा आफूलाई अन्याय भएको गुनासो राख्दै छिटो न्याय पाउन सहयोग गर्न आग्रह गरेका थिए। गुरुङले पनि यसबारे आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
भेटमा रविले जेन–जी आन्दोलनमा आफू साथमा रहेको र देश निर्माणका लागि वैकल्पिक शक्तिहरू एक भएर अघि बढ्नुपर्छ भन्ने सन्देश समेत दिएका थिए।
गुरुङले हालै बालेन शाह र कुलमान घिसिङबीच भएको भेटमा समेत आफूले सहजीकरण गरेको दाबी गरे। उज्यालो नेपालका एक वरिष्ठ नेताले पनि गुरुङले वैकल्पिक शक्तिहरूलाई नजिक ल्याउन भूमिका खेलेको पुष्टि गरेका छन्।
गुरुङले अब कुलमान–रवि–बालेनलगायत वैकल्पिक धारका नेताहरूबीच अझै व्यापक समन्वय अघि बढाउने तयारी रहेको बताए।





