भक्तपुरमा नेमकिपाको ‘किल्ला’ भत्कियो: रास्वपाका रूकेश रञ्जित विजयी



भक्तपुर । भक्तपुर क्षेत्र नम्बर–१ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को लामो समयदेखिको प्रभावलाई तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रूकेश रञ्जित विजयी भएका छन्।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणामअनुसार रञ्जितले नेमकिपाका वरिष्ठ नेता प्रेम सुवाललाई ५ हजार २८९ मतान्तरले पराजित गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका रञ्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दा नेमकिपाका सुवालले २८ हजार १४७ मत पाएका छन्। भक्तपुर–१ लामो समयदेखि नेमकिपाको बलियो गढ मानिँदै आएको थियो।

यसपटक भने मतदाताले नयाँ विकल्प रोजेको देखिएको छ। रास्वपाका रञ्जितको जितसँगै भक्तपुरको परम्परागत राजनीतिक समीकरणमा महत्वपूर्ण परिवर्तन आएको विश्लेषण गरिएको छ।

विजयपछि प्रतिक्रिया दिँदै रञ्जितले भक्तपुरका मतदाताले परिवर्तन र नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गरेको बताए। उनले भक्तपुरको विकास, सुशासन र ऐतिहासिक सम्पदाको संरक्षणमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

यो परिणामसँगै काठमाडौं उपत्यकामा रास्वपाको प्रभाव अझ बलियो हुँदै गएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। उता नेमकिपाका समर्थकहरूका लागि भने यो नतिजा अप्रत्याशित बनेको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार