बागमती प्रदेश सांसदका स्वकीय सचिवको तलब रोकियो, ११० जना कार्यकर्ता बेरोजगार



हेटौँडा । संघीय सरकारले सांसदका स्वकीय सचिवको सुविधा कटौती गरेपछि बागमती प्रदेशका सांसदका स्वकीय सचिवहरूको तलब भत्ता रोकिएको छ।

प्रदेश सरकारले यसबारे कुनै निर्णय नगरेकाले असोजदेखि तलब भुक्तानी हुन नसकेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए। उनका अनुसार भदौ महिनासम्मको तलब मात्र वितरण गरिएको छ।

संघीय सरकारले असोज ५ गते राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीबाहेक अन्य राजनीतिक पदाधिकारीका स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। पौडेलका अनुसार अन्य प्रदेशमा पनि यस्तै अवस्था देखिएको छ।

बागमती प्रदेशसभामा ११० जना सदस्य छन्। प्रदेशसभाका सदस्यहरूले अधिकृत सरहको सुविधा पाउने गरी एक जना स्वकीय सचिव राख्न पाउने कानुनी व्यवस्था छ।

प्रकाशित मिति : २०८२ कार्तिक १२ गते मङ्गलवार