ओरियन्टल होटलको २८औं वार्षिक साधारणसभा सम्पन्न, हकप्रद सेयर जारी गर्ने



काठमाडौं । ओरियन्टल होटल लिमिटेडको २८औं वार्षिक साधारणसभा शुक्रबार ललितपुरको जावलाखेलमा सम्पन्न भएको छ। अध्यक्ष शुभद्रा श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले २०८१/८२ (आ.व. २०२४/२५) का लागि संचालक समितिको वार्षिक प्रतिवेदन, असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सम्बन्धित टिप्पणीहरू सर्वसम्मत पारित गरेको छ।

साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार उक्त आर्थिक वर्षमा होटलले कुल १ अर्ब ८ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ। आम्दानीमध्ये कोठा बिक्रीबाट ३३ करोड ३६ लाख, खाद्य तथा पेय बिक्रीबाट ३९ करोड २७ लाख, विमानस्थल लाउन्ज सेवाबाट २७ करोड १७ लाख र अन्य बिक्रीबाट ९ करोड ४० लाख रुपैयाँ प्राप्त भएको थियो।

होटलका अनुसार सो अवधिमा कुल सञ्चालन खर्च ९४ करोड ५१ लाख रुपैयाँ रहेको र यसबाट १४ करोड ३५ लाख रुपैयाँ सञ्चालन नाफा तथा ४ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरिएको हो।

व्यवस्थापनले पछिल्ला वर्षमा काठमाडौंमा नयाँ पाँचतारे तथा अन्य स्टार होटलहरू संचालनमा आएका कारण प्रतिस्पर्धा तीव्र भएको र पर्यटक आगमन संख्या पनि कोभिड–पूर्व सन् २०१९ को स्तरमा नफर्केकाले नाफा अपेक्षाभन्दा कम भएको जनाएको छ। साथै, आ.व. २०८१/८२ मा निर्माण सम्पन्न भएको नयाँ सर्भिस्ड अपार्टमेन्ट पूर्ण रूपमा सञ्चालनमा आएको र यसले आगामी महिनाहरूमा आम्दानी बढाउने अपेक्षा राखिएको छ।

सञ्चालक समितिको प्रस्ताव अनुसार होटलले ३१ करोड ५५ लाख ५ हजार ४० रुपैयाँ बराबरको हकप्रद सेयर १ सेयर बराबर ०.२६६३ को अनुपातमा जारी गर्ने निर्णय गरेको छ। यसबाट प्राप्त रकम होटलको पुरानो परिसरका तल्ला पुनःनिर्माण तथा आधुनिकीकरणका लागि प्रयोग गरिनेछ। हाल तेस्रो, चौथो र पाँचौं तल्लामा पुनर्निर्माण कार्य भइरहेको कम्पनीले जनाएको छ।

यस्तै, ओरियन्टल होटलले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (ICAN) बाट नेपाल वित्तीय प्रतिवेदन मापदण्ड (NFRS) अनुसार प्रतिवेदन तयारीमा उत्कृष्टता प्रदर्शन गर्दै “नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट २०२४” अन्तर्गत काँस्य पुरस्कार (Bronze Award) प्राप्त गरेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २ गते शनिवार