तिहारमा स्वदेशी उत्पादन प्रयोग गर्न बागमती प्रदेश कृषि मन्त्रालयको आग्रह



काठमाडौँ । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तिहार, नेपाल सम्बत् र छठ पर्वको अवसरमा स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। मन्त्री मधुसूदन पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विदेशी तथा कृत्रिम सामग्रीको प्रयोग घटाई स्वदेशमा उत्पादन भएका प्राकृतिक फूल र दुग्धजन्य वस्तुको प्रयोग गर्न सबैमा अपिल गरेका छन्।

उनले गोदावरी, सयपत्री, मखमली जस्ता प्राकृतिक फूलहरूको सांस्कृतिक तथा आर्थिक महत्व उल्लेख गर्दै पछिल्लो समयमा कृत्रिम प्लास्टिक फूलको अत्यधिक प्रयोगले किसानको आम्दानीमा कमी आएको र वातावरणमा नकारात्मक प्रभाव परेको बताए। मन्त्री पौडेलले, “स्वदेशी फूल प्रयोग गर्नु स्थानीय कृषकलाई प्रत्यक्ष सहयोग हो,” भन्दै प्लास्टिकका कृत्रिम फूलको प्रयोग नगर्न आग्रह गरे।

मन्त्रालयले प्रदेशका किसानलाई प्राकृतिक फूल उत्पादनमा प्रोत्साहन दिइरहेको र यस्ता कृषि उत्पादनको संरक्षण तथा बजार विस्तारका लागि निरन्तर कार्य भइरहेको पनि स्पष्ट पारेको छ। त्यसैगरी, मन्त्री पौडेलले घ्यू, दही, पनीर, खुवा, मिष्ठान्न लगायत दुग्धजन्य उत्पादन पनि स्वदेशी उत्पादकबाट खरिद गर्न आग्रह गर्दै, “यस्ता उत्पादनको प्रयोगले दुग्ध किसानको आयआर्जनमा प्रत्यक्ष टेवा पुग्नेछ,” भने।

स्वदेशी उत्पादनको प्रयोग, वातावरणमैत्री व्यवहार र संस्कृतिप्रतिको सम्मानमार्फत समृद्ध र आत्मनिर्भर बागमती प्रदेश निर्माणमा सबै एकजुट हुनुपर्ने उल्लेख गर्दै उनले शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।

प्रकाशित मिति : २०८२ कार्तिक २ गते शनिवार