विद्यालय शिक्षा विधेयक भदौ २६ गते सदनबाट पारित हुने



काठमाडौं । प्रतिनिधि सभाले भदौ महिनाभर संघीयता र शासन प्रणालीसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरू पारित गर्ने तयारी गरेको छ। सभामुख देवराज घिमिरेले बिहीबार राजनीतिक दलका प्रमुख सचेतकहरूसँग बैठक कार्यसूचीबारे छलफल गर्दै यसबारे सहमति जुटेको हो।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार शुक्रबार बस्ने बैठकमा भूमिसम्बन्धी विधेयक पारित गरी राष्ट्रिय सभामा पठाइनेछ। त्यस दिन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

बर्तौलाले भदौ १८ गते नागरिकता सम्बन्धी विधेयक र राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयक पारित गर्ने तयारी रहेको जानकारी दिए। त्यस्तै, भदौ १७ गते राष्ट्रिय सभाबाट सन्देशसहित संघीय निजामति विधेयक फिर्ता आएमा १८ गते टेबल गरी १९ गते पारित गर्ने तयारी गरिएको छ।

प्रतिनिधि सभाको बैठक भदौ २५, २६ र २७ गते पनि बस्नेछ। भदौ २५ गते विद्यालय शिक्षा विधेयक पारित गर्ने कार्यसूची रहेको बर्तौलाले जानकारी दिए।

उनका अनुसार भदौ महिनाभर संघीयतासँग सम्बन्धित संवैधानिक र कानुनी ढाँचा मजबूत बनाउन महत्वपूर्ण विधेयकहरू पारित गरिनेछन्।

प्रकाशित मिति : २०८२ भाद्र १३ गते शुक्रवार