काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन शुक्रबार प्रतिनिधि सभामा पेस गरिएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सभामा प्रतिवेदन पेस गर्दै विधेयकलाई सरोकारवाला सबै पक्षसँग औपचारिक तथा अनौपचारिक छलफलपछि परिष्कृत गरिएको जानकारी दिए।
समितिले बिहीबारको बैठकमार्फत विधेयक पारित गरेको थियो। सभापति थापाले लामो समयपछि परिवर्तन हुन लागेको ऐनले विद्यालय शिक्षामा उल्लेख्य सुधार ल्याउने विश्वास व्यक्त गरे।
तर, उक्त विधेयकमा केही दलहरूले फरक मत राखेका छन्।
-
नेकपा (माओवादी केन्द्र) ले निजी विद्यालयले दिने छात्रवृत्ति संसदीय उपसमितिको प्रस्तावअनुसार हुनुपर्ने लगायत पाँच बुँदे फरक मत राखेको छ।
-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्ण छात्रवृत्ति आवाससहितको व्यवस्था हुनुपर्ने लगायत तीन बुँदे फरक मत राखेको छ।
-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निजी विद्यालयलाई गैरनाफामूलक बनाउनुपर्ने प्रस्तावमा फरक धारणा राखेको छ।





