काठमाडौं । रुपन्देही कारागारबाट सरुवा भई ललितपुरको नख्खु कारागारमा आउन लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू बसेको कारागारको भित्तामा लेखेर आएको बताएका छन्।
भैरहवा विमानस्थलमा उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झासँगको भेटमा उनले यसबारे जानकारी गराएका हुन्। कारागारमै भेट्न पुगेका वाग्ले र झालाई भेट्न नपाएपछि विमानस्थलमा संक्षिप्त भेट भएको झाले जानकारी दिए।
रविले भित्तामा लेखेको भनाइ उद्धृत गर्दै झाले भने, “अब कृष्ण जन्मिने छैन, जन्मेकाले नै कृष्ण बन्नुपर्नेछ।”
त्यस क्रममा लामिछानेले राजनीतिक प्रतिशोधका कारण आफूलाई जताततै सारिए पनि नडराउने स्पष्ट पारेका थिए। “राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन, यो मेरो देश हो, मेरो भूमि हो। जसरी सक्छन्, जता सक्छन् लग्न देऊ, केही फरक पर्दैन,” झाले रविको भनाइ उद्धृत गरे।
लामिछाने १२६ दिन रुपन्देही कारागारमा बसेपछि आज नख्खु कारागारमा सरुवा हुन लागेका हुन्। उनले भैरहवाबाट यूए ८६० बुद्ध एयरमार्फत काठमाडौं आइरहेका छन्।





