हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। विशेष स्रोतका अनुसार, उनले नेपाली कांग्रेसको तर्फबाट पाँच जना मन्त्री नियुक्त गर्ने अन्तिम तयारी गरेका छन् र आजै शपथ ग्रहण गराउनेछन्।
मन्त्री बन्नेमा कांग्रेसका बिन्दु रायमाझी, कन्चनचन्द्र बादे, शुरेस श्रेष्ठ, उर्मिला केसी नेपाल र प्रभात तामाङ रहेका छन्। यी सबै बानियाँ समुहका सांसद हुन्।
स्रोतका अनुसार, बिन्दु रायमाझीलाई कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाको सिफारिसमा, कन्चनचन्द्र बादेलाई प्रकाशमान सिंहको सिफारिसमा, उर्मिला केसी नेपाललाई प्रकाशशरण महतको सिफारिसमा, शुरेस श्रेष्ठलाई गगन थापाको सिफारिसमा र प्रभात तामाङलाई मुख्यमन्त्री बानियाँकै कोटाबाट मन्त्री बनाइने तयारी छ।
यसबीच, निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्षका सांसदहरू मन्त्री सूचीमा छैनन्। लामाले आफ्नो पक्षका सांसदलाई मन्त्री नबनाएसम्म विश्वासको मत नदिने अडान लिएका थिए। तर, केन्द्रीय सभापति लगायतले कारबाहीको चेतावनी दिएपछि अन्ततः विश्वासको मत दिएका थिए। तर अहिलेको विस्तारमा बहादुर पक्ष ‘हेरेको हेर्यै’ भएको छ।





