कांग्रेसको आन्तरिक विवादले बागमतीमा मन्त्री नियुक्ति रोकियो



बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेका नेपाली कांग्रेसका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा पक्षबीच मन्त्री नियुक्तिमा देखिएको मतभेद अझै समाधान भएको छैन।

२० साउनमा नियुक्त बानियाँले एमालेका ६ र कांग्रेसका २ मन्त्री बनाए पनि भागबण्डाअनुसार कांग्रेसका ५ मन्त्री अझै नियुक्त हुन बाँकी छन्। लामा पक्षले आफूले मन्त्री बनाउन प्रस्ताव गरेका धादिङका गोविन्द लम्साल, चितवनकी माया श्रेष्ठ र गीता गुरुङलाई पहिलो चरणमै नियुक्त नगरेकोमा असन्तुष्टि जनाएको छ।

पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलपछि लामा पक्षले विश्वासको मतमा साथ दिएको भए पनि बानियाँ पक्षका सांसदहरूले ती ३ जनालाई मन्त्री नबनाउन दबाब दिइरहेका छन्।

मुख्यमन्त्री बानियाँ बुधबार काठमाडौं पुगेका छन् र आज शीर्ष नेताहरूसँग छलफल गरेर शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन्।

बानियाँकै पहलमा लामा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भई नेतृत्व परिवर्तन भएको राजनीति यस विवादको जड हाे ।

प्रकाशित मिति : २०८२ साउन ३० गते बिहिवार