एकता सहकारीको २५औँ वार्षिक साधारण सभा सम्पन्न, प्रविधिमैत्री सेवामा विस्तार



भक्तपुर ।
एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारण सभा शनिबार भक्तपुरको कौशलटारस्थित द ह्वाइट प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ। सभामा शेयर सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

संस्थाका अध्यक्ष माधव प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न साधारण सभामा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप–समितिका पदाधिकारी, कर्मचारी तथा शेयर सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

सभाले आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। साथै लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान विवरण र आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित आय–व्यय बजेट पनि अनुमोदन गरिएको छ।

त्यसैगरी, लेखा सुपरिवेक्षण समितिद्वारा प्रस्तुत आन्तरिक लेखा परीक्षण प्रतिवेदन पारित गर्दै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव स्वीकृत गरिएको छ।

सभाबाट संस्थाको दीर्घकालीन सुदृढीकरणका लागि आवश्यकता र औचित्यका आधारमा अन्य सहकारी संस्थासँग गाभ्ने (मर्जर) विषयमा सञ्चालक समितिलाई अधिकार प्रदान गरिएको छ।

रणनीतिक कार्यक्रमअन्तर्गत शेयर सदस्य, कर्मचारी तथा पदाधिकारीहरूको क्षमता अभिवृद्धिका लागि शिक्षा तथा तालिम कार्यक्रम सञ्चालन गर्ने, सदस्य संरक्षण र आर्थिक सशक्तीकरणका लागि स्वरोजगारमूलक तालिम विस्तार गर्ने निर्णय गरिएको छ। साथै प्रविधिमैत्री सेवा प्रवाहका लागि आधुनिक सफ्टवेयर, मोबाइल बैंकिङ तथा एसएमएस सेवामार्फत कारोबारलाई अझ प्रभावकारी बनाउने नीति अघि सारिएको छ।

जोखिम व्यवस्थापनलाई थप मजबुत बनाउँदै ऋण लगानी प्रक्रियामा धितो मूल्याङ्कन, चल तथा अचल सम्पत्तिको दृष्टिबन्धक र रोक्काजस्ता व्यवस्थालाई व्यवस्थित गर्ने निर्णय पनि सभाले गरेको छ।

प्रकाशित मिति : २०८२ पुष २८ गते सोमवार