सिनियर सेभिङ एण्ड क्रेडिटको २५औँ AGM सम्पन्न, वित्तीय प्रगतिप्रति सेयर सदस्य सन्तुष्ट



काठमाडौं।
सिनियर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको २५औँ वार्षिक साधारण सभा (AGM) सफलतापूर्वक सम्पन्न भएको छ। सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।

सभामा को–अपरेटिभको स्थापना कालदेखि हालसम्मको संस्थागत अवस्था, वित्तीय प्रगति तथा भावी योजना बारे विस्तृत जानकारी गराइएको थियो। आर्थिक वर्ष २०८१/८२ मा मुलुकको कमजोर आर्थिक अवस्था, तरलताको समस्या तथा समग्र अर्थतन्त्रमा देखिएको चुनौतीका बाबजुद पनि संस्थाले आफ्ना कार्यक्रमहरू सन्तुलित र प्रभावकारी रूपमा सञ्चालन गर्न सफल भएको अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ।

कम्पनीले आर्थिक वर्ष २०८१/०८२ मा निक्षेप संकलन तथा कर्जा लगानी सन्तोषजनक रूपमा विस्तार गरेको छ। उक्त अवधिमा कम्पनीको कुल निक्षेप रु. ६० करोड ७७ लाख १८ हजार १०५ रुपैयाँ पुगेको छ भने कुल कर्जा तथा लगानी रु. ६२ करोड ८७ लाख ८८ हजार ६३९ रुपैयाँ रहेको छ।

यसैगरी, कम्पनीको कुल आम्दानी रु. २ करोड ७१ लाख ५९ हजार ६८० रुपैयाँ रहेको छ भने कुल खर्च रु. २ करोड ४५ लाख ६७ हजार ५०६ रुपैयाँ पुगेको छ। कर्मचारी खर्च रु. ५१ लाख ४६ हजार ७८० रुपैयाँ र कार्यालय सञ्चालन खर्च रु. १ करोड ८५ लाख ५० हजार ६९९ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।

साथै, संस्थाको कार्यालय सञ्चालन खर्च, कर्मचारी खर्च, विभिन्न शीर्षकमा गरिएको लगानी तथा वित्तीय कारोबारको विवरण पनि सभामा प्रस्तुत गरिएको थियो। आगामी दिनमा संस्थालाई थप सुदृढ बनाउँदै सदस्यको हितमा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

२५औँ वार्षिक साधारण सभामा सेयर सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो भने सेयर सदस्यहरूले संस्थाको प्रगति प्रति सन्तोष व्यक्त गर्दै आवश्यक सुझावहरू पनि दिएका थिए।

प्रकाशित मिति : २०८२ माघ ३ गते शुक्रवार