बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत



बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। मंगलबार बसेको प्रदेशसभा बैठकमा उनले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ६३ मत परेको हो।

कुल ११० सदस्यीय प्रदेशसभामा सरकार टिकाउन कम्तीमा ५६ सांसदको समर्थन आवश्यक हुनेमा बानियाँले कांग्रेसका ३६ र एमालेका २७ सांसदको मत पाए। सत्ता गठबन्धनकै एक सांसद अनुपस्थित रहे। कांग्रेस सांसद रामकृष्ण चित्रकार विदेशमा रहेका कारण बैठकमा उपस्थित भएनन्।

बैठकमा उपस्थित ९२ सांसदमध्ये २२ जनाले विरोधमा मत दिए भने ७ जना तटस्थ रहे। १८ सांसद अनुपस्थित रहे भने सभामुख मत विभाजनमा सहभागी भएनन्।

गत साउन २० गते एमाले–कांग्रेस गठबन्धनबाट मुख्यमन्त्री बनेका बानियाँले नेपालको संविधानको धारा १६८(४) र प्रदेशसभा नियमावली २०७४ को नियम १४३(४) बमोजिम विश्वासको मत लिएका हुन्।

प्रकाशित मिति : २०८२ साउन २८ गते मङ्गलवार