मुख्यमन्त्री बानियाँलाई एकीकृत समाजवादीले विश्वासको मत दिने



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई नेकपा (एकीकृत समाजवादी)ले विश्वासको मत दिने भएको छ। आफ्नै पार्टी नेपाली कांग्रेसका १४ सांसद अनुपस्थित हुने भएपछि बानियाँले मंगलबार सरकारबाहिर रहेका दलहरूसँग छलफल गरेका थिए।

सो क्रममा एकीकृत समाजवादीसँग विश्वासको मत दिने र सरकारमा सहभागी हुने सहमति बनेको हो। नेपाली कांग्रेस संसदीय दलका सचिव मीनकृष्ण महर्जनका अनुसार मुख्यमन्त्रीले सबै दलसँग छुट्टाछुट्टै छलफल गरे पनि कसले समर्थन गर्छ भन्नेबारे जानकारी गराइएको थिएन। तर एकीकृत समाजवादीले भने कांग्रेसका १४ सांसद अनुपस्थित भएमा विश्वासको मत दिने आश्वासन दिएको छ।

एकीकृत समाजवादीकी सांसद अप्सरा चापागाईंका अनुसार सदस्यहरूलाई मत दिने विषयमा जानकारी गराइसकिएको छ। “हालसम्म विश्वासको मत दिने भन्ने छ,” उनले भनिन्, “तर बैठक सुरु भइसकेको छैन, भोट हाल्ने बेलासम्म फेरि जानकारी हुनेछ।”
बागमती प्रदेशसभामा एमाले र कांग्रेस मिलेर ६४ सांसद छन्। कांग्रेसको लामा पक्षका १४ सांसद अनुपस्थित हुँदा ५० सांसद मात्र रहनेछन्। एकीकृत समाजवादीका सात सांसदको समर्थन पाए बानियाँको सरकार जोगाउन आवश्यक ५६ मत पुग्नेछ।

प्रकाशित मिति : २०८२ साउन २८ गते मङ्गलवार