लामापक्षका ३ मन्त्री नियुक्त नभए बानियाँ सरकार आजै ढल्ने सम्भावना



बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ मंगलबार प्रदेश सभाबाट विश्वासको मत लिन तयारीमा छन् । तर पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा पक्ष तीन मन्त्रीको दाबी पूरा नभएसम्म समर्थन नदिने अडानमा रहेकाले बानियाँको बहुमत चुनौतीपूर्ण बनेको छ ।

अपराह्न ४ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको भए पनि लामा पक्षका अधिकांश सांसद हाल काठमाडौंमै छन् । सांसद कुन्दन काफ्लेले सहमति कार्यान्वयनबारे छलफल भइरहेको बताए ।

लामाले आफू मुख्यमन्त्री हुँदा नियुक्त गरेका तीन मन्त्रीलाई पुनः कायम राख्नुपर्ने माग गरेका छन् । तर बानियाँले यसमा असहमति जनाएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने लामा समूहलाई पहिले विश्वासको मत दिन र त्यसपछि मन्त्री नियुक्त गराउने आश्वासन दिइसकेका छन् ।

११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ मत आवश्यक पर्छ । कांग्रेसका ३७ र एमालेका २७ सांसद भए पनि लामा पक्षका १४ सांसदको समर्थनबिना बानियाँको बहुमत सम्भव छैन ।

देउवाको निर्देशनका बाबजुद सहमति नजुटे आजै बानियाँ सरकार ढल्ने निश्चित छ ।

प्रकाशित मिति : २०८२ साउन २८ गते मङ्गलवार