मुख्यमन्त्री बानियाँ विश्वासको मत संकटमा, आफ्नै पार्टीभित्र विभाजन



हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ आज (२७ साउन) दिउँसो ४ बजे विश्वासको मत लिने कार्यतालिकासहित तयारीमा भए पनि आफ्नै पार्टीभित्रको विभाजनका कारण उनको पद संकटमा परेको छ।

यसअघिका मुख्यमन्त्री बहादुर सिंह लामालाई अविश्वास प्रस्तावमार्फत पदच्युत गराएका बानियाँ र लामा पक्षबीच टकराव उत्कर्षमा पुगेको छ। लामा पक्षले बानियाँलाई विश्वासको मतमा असहयोग गर्ने स्पष्ट संकेत दिएको छ।

लामा पक्ष असन्तुष्ट हुनुको कारण भनेको, राजीनामा दिने बेला राखिएका सर्त—विशेषगरी तीनजना मन्त्रीलाई तत्काल शपथ खुवाउने र मन्त्रालय बाँडफाँड गर्ने—बानियाँले पूरा नगर्नु हो। निवर्तमान मुख्यमन्त्री लामाले राजीनामा दिनुअघि ती मन्त्री नियुक्त गरे पनि प्रदेश प्रमुखको अनुपस्थितिका कारण शपथ हुन सकेको थिएन।

नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले विश्वासको मत दिन निर्देशन दिँदै नमान्ने सांसदलाई कारबाहीको चेतावनी दिएका छन्। तर लामा पक्ष आफ्नो अडानमा अडिग रहँदै कुनै पनि हालतमा बानियाँलाई समर्थन नगर्ने बताइरहेको छ।

प्रदेशसभामा ११० सदस्य छन् र विश्वासको मतका लागि ५६ मत आवश्यक छ। नेपाली कांग्रेसका ३७ सदस्यमध्ये १४ जना लामा पक्षमा छन्, जसले असहयोग गर्ने जनाएका छन्। एमाले र कांग्रेस दुवैले ह्विप जारी गरे पनि लामा पक्ष झुक्ने संकेत देखिँदैन।

विश्वासको मत अघि बानियाँले भोलि दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएका छन् भने लामा पक्षले काठमाडौंमा १२ बजे आफ्ना सांसदको बैठक र २ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ।

राजनीतिक टकराव यति बढेको छ कि लामा पक्षले सामूहिक राजीनामासम्मको योजना बनाएको विशेष स्रोतको दाबी छ। यसो हुँदा मुख्यमन्त्री बानियाँको विश्वासको मत सुरक्षित हुन कठिन देखिएको छ।

प्रकाशित मिति : २०८२ साउन २८ गते मङ्गलवार