नेकपाले भन्याे “विचार र नेतृत्वको रूपान्तरण नहुँदासम्म माओवादी केन्द्रसँग एकता असम्भव”



रुपन्देही – माओवादी केन्द्रले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग एकता गर्ने घोषणा गरेपछि वाम राजनीतिमा तरंग पैदा भएको छ। तर, विप्लव समूहले उक्त प्रस्तावलाई अनौपचारिक, प्रचारमुखी र अविश्वसनीय भन्दै सार्वजनिकरूपमै अस्वीकार गरेको छ।

🔺 ‘हामी एकता विरोधी होइनौं, तर…’

विप्लव नेतृत्वको नेकपाले एकता अस्वीकारको औपचारिक जानकारी पार्टी महासचिव विप्लवको सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै दिएको हो। विज्ञप्तिमा माओवादी केन्द्रले संसदीय दलको सीमाबाट बाहिर नउठी गरिएको एकताको कुरा प्रचारबाजीमात्र भएको ठहर गरिएको छ।

पार्टीकी स्थायी समिति सदस्य उमा भुजेल भन्छिन्: “हामी एकता विरोधी होइनौं, तर विचार, नेतृत्व र कार्यक्रम रुपान्तरणबिना सम्भव छैन। नयाँ नेतृत्व र क्रान्तिकारी कार्यक्रम चाहिन्छ, पद र सत्ता निम्ति एकता हुँदैन।”

🔺 प्रकाण्डको कडा प्रतिक्रिया:

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले  भने, “माओवादी केन्द्र संसदवादी दल हो। एकताको पहिलो शर्त विचार र नेतृत्वको रूपान्तरण हो। अहिलेको माओवादीसँग हाम्रो सैद्धान्तिक मेल छैन।”

उनका अनुसार, एकता हुनका लागि विचार, कार्यदिशा, कार्यक्रम र नेतृत्वमा क्रान्तिकारी पुनर्संरचना आवश्यक छ, जुन अहिलेको माओवादी केन्द्रमा सम्भव देखिँदैन।

🔺 “हावामा हानिएको तीर” – डुम्रे

जनपत्रकार संगठनका नेता प्रकाश डुम्रे ले माओवादी केन्द्रको निर्णयलाई “सस्तो प्रचार र रणनीतिक चाल” भनेका छन्। उनका अनुसार यो माओवादी केन्द्रभित्रका आन्तरिक विवादहरूलाई व्यवस्थापन गर्ने प्रयास हो, विप्लवसँग कुनै औपचारिक संवाद नै भएको छैन।

🔺 संसदीय मोर्चामै सीमित माओवादी, शंका र अविश्वास

विप्लव समूहले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले अघिल्ला वर्षहरूमा पटक–पटक सत्ताको खोजीमा संसदवादी अभ्यासमा सीमित रहेको स्मरण गर्दै यस्तो निर्णयप्रति विश्वास गर्न नसकिने बताएको छ। समाजवादी मोर्चाको नेतृत्व विस्तार गर्ने माओवादीको रणनीतिप्रति विप्लव समूह पहिल्यैदेखि आशंकित छ।

🔺 वास्तविक एकता हुन यी शर्तहरू पूरा हुनुपर्ने विप्लव पक्षको अडान:

  • संसदवादबाट पूर्णतः उन्मुक्ति

  • नेतृत्व र विचारको क्रान्तिकारी रूपान्तरण

  • सत्ता र पदको निम्ति होइन, विचारमा आधारित एकता

  • सबैकसलाई समेट्ने नयाँ कार्यक्रम र नेतृत्व

🔺 राजनीतिक पृष्ठभूमि:

सशस्त्र युद्धकालका प्रभावशाली नेता विप्लव, मोहन वैद्य ‘किरण’ र रामबहादुर थापा ‘बादल’ माओवादी केन्द्रबाट अलग भएका थिए। २०७८ सालमा तत्कालीन ओली सरकारसँग तीन बुँदे सहमति गरेर विप्लव समूह शान्तिपूर्ण राजनीतिमा फर्किएको भए पनि आजसम्म पनि उसले निर्वाचनमा भाग लिएको छैनसंसद्भित्रको खेलमा सहभागिता जनाएको छैन।

🔺 विश्लेषण:

राजनीतिक विश्लेषकहरूका अनुसार, माओवादी केन्द्रको एकता प्रस्तावले आन्तरिक असन्तुलन, विशेषतः जनार्दन शर्माको शक्ति प्रदर्शनलाई न्युनिकरण गर्ने रणनीतिका रूपमा पनि हेरिएको छ। तर, विप्लव पक्षको चिसो प्रतिक्रिया र शर्तहरूबिना वास्तविक एकताको सम्भावना तत्काल देखिँदैन।

प्रकाशित मिति : २०८२ साउन २२ गते बुधवार