बानियाँले मन्त्रिमण्डल गठनमा सहमति उल्लंघन गरेको भन्दै लामा असन्तुष्ट



हेटौंडा, २० साउन । बागमती प्रदेशको नयाँ सरकार गठनका क्रममा सहमति कार्यान्वयन नभएको भन्दै निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा असन्तुष्ट बनेका छन्। नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बनेर मंगलबार शपथ लिएका दिनै लामाले शपथ समारोह बहिष्कार गर्दै असन्तुष्टि जनाएका हुन्।

लामाले आफू अल्पमतमा परेपछि बानियाँ नेतृत्वको सरकारलाई समर्थन दिने सर्तमा आफ्ना सिफारिसअनुसार तीन मन्त्री समेट्ने सहमति भएको बताउँदै उक्त सहमति पालना नगरेको आरोप लगाए। उनका अनुसार गोविन्द लम्साल (आन्तरिक मामिला तथा कानून), गीता गुरुङ (सहकारी तथा गरिबी निवारण) र माया श्रेष्ठ (युवा तथा खेलकुद) लाई मन्त्री बनाउने शर्तमा मात्रै उनले राजीनामा दिएका थिए।

“आदरणीय सभापतिज्यूले भन्नु भएको कुरा पनि कार्यान्वयन गरिएन”, लामाले पत्रकारहरूसँग भने, “यो संविधानविपरीत हो, गलत नजिर बस्यो। यसले भोलि ठूलो क्षति निम्त्याउन सक्छ।” उनी असन्तुष्टि लिएर कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्न साँझ काठमाडौं प्रस्थान गरेका छन्।

यसैबीच, कांग्रेस नेतृत्वको सरकार गठनकै पहिलो दिन विवाद र असन्तुष्टि चुलिएको छ। बानियाँले मन्त्रालय बाँडफाँडको विवादबीच केवल दुई मन्त्रीसहित मात्र शपथ लिएका छन्। देउवाका विश्वासपात्र मानिने शिवराज अधिकारीसम्म मन्त्रालयविहीन बनेका छन्। उनलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय दिने तयारी भए पनि अन्तिम समयमा नाम समेटिएन।

पार्टीभित्रका गुटगत दबाब, नेताहरूका आकांक्षा र भागबण्डा मिलाउन नसक्दा बानियाँ नेतृत्वको मन्त्रिमण्डल विस्तार अन्योलमा परेको छ। कांग्रेसका केन्द्रीय नेताहरूले आफूनिकटलाई मन्त्री बनाउन दबाब दिँदै बानियाँमाथि चर्को दबाब सिर्जना गरिरहेका छन्।

सरकार गठनको पहिलो चरणमै सहमति उल्लंघन, विश्वासपात्रको उपेक्षा र भागबण्डा विवादका कारण बानियाँ नेतृत्वको सरकार संकटमा पर्ने प्रारम्भिक संकेत देखिन थालेको छ।

प्रकाशित मिति : २०८२ साउन २१ गते मङ्गलवार