हेटौंडा, साउन २० । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनियताको शपथ लिएसँगै नयाँ सरकारका केही मन्त्रीहरूले पनि आज शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख दीपकप्रसाद बाँस्कोटाले मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई शपथ गराएका हुन्।
सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एक मन्त्रालय र एक विनाविभागीय मन्त्रीलाई मात्रै टुंगो लगाएको छ भने बाँकी पाँच मन्त्रालयको जिम्मेवारी खुला नै राखेको छ।
शपथ लिएका कांग्रेसका प्रतिनिधिहरू:
१. इन्द्रबहादुर बानियाँ – मुख्यमन्त्री
२. कृष्णकुमार तामाङ – खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री
३. शिवराज अधिकारी – विनाविभागीय मन्त्री
सरकारमा सहभागी नेकपा एमालेले भने आफ्ना सबै ६ मन्त्रीको नाम टुंगो लगाएर शपथ गराइसकेको छ।
एमालेका तर्फबाट शपथ लिएका मन्त्रीहरू:
१. मधुसुदन पौडेल – कृषि तथा पशुपन्छी विकास मन्त्री
२. डा. दिनेशचन्द्र देवकोटा – भौतिक पूर्वाधार विकास मन्त्री
३. जयराम थापा – श्रम, रोजगार तथा यातायात मन्त्री
४. भरतबहादुर केसी – वन तथा वातावरण मन्त्री
५. किरण थापा – स्वास्थ्य मन्त्री
६. बिन्दु श्रेष्ठ – उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री
मुख्यमन्त्री बानियाँको नेतृत्वमा गठन भएको कांग्रेस–एमाले गठबन्धन सरकार पूर्णता नपाउँदै अघि बढेको छ। बाँकी रहेका मन्त्रालयहरूमा चाँडै टुंगो लगाउने तयारी भएको बताइएको छ।
प्रदेशसभामा बहुमत प्राप्त गठबन्धनले अब नीति तथा कार्यक्रम र बजेट लगायतका कामलाई प्राथमिकता दिने तयारी गरेको छ।






