हेटौंडा, साउन २० । बागमती प्रदेशमा कांग्रेस नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा बन्ने नयाँ सरकारमा नेकपा एमालेले पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ। एमालेले आफ्नो भागमा परेका ६ मन्त्रालयको जिम्मेवारीका लागि मन्त्रीहरूको नाम तय गरेको हो।
यीमध्ये स्वास्थ्यमन्त्री किरण थापा मगरमात्र दोहोरिएका छन्। उनी अघिल्लो सरकारमा पनि यही मन्त्रालय सम्हालिरहेका थिए र नयाँ सरकारमा पनि यही जिम्मेवारीमा रहनेछन्।
बाँकी पाँच मन्त्रालयमा भने नयाँ अनुहारहरू पठाइने भएका छन्। एमालेले तय गरेका मन्त्रीहरूको विवरण यसप्रकार छ:
श्रम, रोजगार तथा यातायात मन्त्री: जय राम थापा (काठमाडौं)
वन तथा वातावरण मन्त्री: भरतबहादुर केसी (दोलखा)
कृषि तथा पशुपन्छी विकास मन्त्री: मधुसुधन पौडेल (ललितपुर)
भौतिक पूर्वाधार विकास मन्त्री: डा. दिनेशचन्द्र देवकोटा (काठमाडौं)
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री: विन्दु श्रेष्ठ (काठमाडौं)
यसअघि मुख्यमन्त्री रहेका बहादुरसिंह लामाले पार्टीको निर्देशनमा साउन १९ गते पदबाट राजीनामा दिएका थिए। कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएपछि लामाले पद त्याग गरेका हुन्। लामाको राजीनामासँगै कांग्रेसले इन्द्रबहादुर बानियाँलाई नयाँ दलको नेता चयन गर्दै मुख्यमन्त्री बनाउने तयारी गरेको हो।
नयाँ सरकार गठनको प्रक्रिया आजै सम्पन्न हुने अपेक्षा गरिएको छ।





