बानियाँलाई आज मुख्यमन्त्रीमा नियुक्त गरिने, दिउँसो ४ बजे सपथ



हेटौंडा, २०८२ साउन २० । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका नयाँ मुख्यमन्त्रीमा नियुक्त हुने भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज (मंगलबार) दिउँसो ४ बजे मुख्यमन्त्री बानियाँलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिउँसो २ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका थिए। सोही अनुसार कांग्रेसका नेता बानियाँले सोमबार नै कांग्रेसका ३७ र सत्ता साझेदार नेकपा एमालेका २७ गरी ६४ सांसदको हस्ताक्षरसहित बहुमतको दाबी पेश गरेका थिए।

११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्नेमा बानियाँले सहज बहुमत पाएका हुन्। सपथ ग्रहणलगत्तै बानियाँले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी समेत गरेका छन्। कांग्रेसबाट केही मन्त्री नियुक्तिका लागि आजै निर्णय हुन सक्ने बताइएको छ।

प्रकाशित मिति : २०८२ साउन २१ गते मङ्गलवार