“इमानदारीताको लडाइँमा पराजित हुँदा आत्मग्लानि छैन”: बहादुरसिंह लामा



हेटौंडा, साउन १८ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन्। आइतबार साँझ प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पत्र बुझाउँदै लामाले एक वर्ष लामो कार्यकाल टुंग्याएका हुन्।

राजीनामासँगै आयोजित पत्रकार सम्मेलनमार्फत लामा आफ्ना असन्तुष्टि पोख्दै भावुक शैलीमा बोले। उनले इमानदारी, सच्चाइ र पारदर्शीताको मार्ग नछाडेको दाबी गर्दै आफू राजनीतिक षड्यन्त्रको सिकार भएको संकेत गरे।

“आज इमानदारीको लडाइँमा पराजित हुँदा मलाई कुनै आत्मग्लानि छैन, बरु सन्तोषको अनुभूति भएको छ,” उनले भने, “मैले पटक–पटक इमानदारी, सच्चाइ र पारदर्शीताको परीक्षा दिएको छु, र त्यसमा सफलता मिलेको छ।”

लामाले पार्टीभित्रको आन्तरिक द्वन्द्व र शक्तिकेन्द्रको हस्तक्षेपले आफूलाई पद त्याग गर्न बाध्य बनाएको जनाए। “मैले कहीँकतै गलत हुन दिएँन, बदमासी भएन, भ्रष्टाचारको समाचार आएन, शक्तिकेन्द्र र स्वार्थ समूहको इशारामा चल्न सकिन। के यो नै मेरो कमजोरी हो र?” भन्दै उनले तीतो टिप्पणी गरे।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा हालै इन्द्रबहादुर बानियाँ विजयी भएपछि लामा बढ्दो राजनीतिक दबाबमा परेका थिए। सभापति शेरबहादुर देउवाको निर्देशनपछि उनले राजीनामाको निर्णय लिएका हुन्।

लामाको राजीनामापछि बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ।

प्रकाशित मिति : २०८२ साउन १९ गते आइतवार