हेटौंडा, साउन १८ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा आज (आइतबार) पदबाट राजीनामा दिने तयारीमा छन्। पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलपछि लामा राजीनामा दिने सहमतिमा पुगेका हुन्।
मुख्यमन्त्री लामाले आफूले नियुक्त गरेका तीन मन्त्री – गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई नयाँ सरकारमा पहिलो चरणमै शपथ गराउने सर्तमा राजीनामा दिन सहमत भएका हुन्। इन्द्र बानियाँ नेतृत्वको सरकारमा उनीहरूलाई यथावत् समावेश गरिने वचन बानियाँले सभापति देउवाको रोहबरमा दिएका थिए।
लामाले राजीनामाअघि मन्त्रिपरिषद् बैठक बोलाउने र पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने जनाइएको छ।
लामाको राजीनामापछि कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँको नेतृत्वमा नयाँ सरकार गठनको बाटो खुल्नेछ। कांग्रेस–एमाले सहमतिअनुसार बाँकी नौ महिनासम्म प्रदेश सरकारको नेतृत्व कांग्रेसकै हुने छ।





