नयाँ सरकारमा पुरानै मन्त्रीहरूलाई निरन्तरता दिने सहमतिपछि मुख्यमन्त्री लामा राजीनामा दिन तयार



काठमाडौं, साउन १७ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आगामी आइतबार सशर्त राजीनामा दिने भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार बूढानीलकण्ठमा भएको छलफलपछि लामा राजीनामा दिन सहमत भएका हुन्। लामाले साउन १४ गते नियुक्त गरेका तीन जना मन्त्रीलाई निरन्तरता दिने शर्तमा पदबाट हट्न तयार भएका हुन्।

छलफलमा सहभागी प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारका अनुसार, लामा नेतृत्वको सरकारले हालै नियुक्त गरेका आन्तरिक मामिला तथा कानुनमन्त्री गोविन्द लम्साल, युवा तथा खेलकुदमन्त्री माया श्रेष्ठ, र सहकारी तथा गरिबी निवारणमन्त्री गीता गुरुङलाई आगामी नयाँ सरकारमा समेत निरन्तरता दिने सहमति जुटेपछि लामाले आइतबार पदबाट हट्ने निर्णय गरेका हुन्। चित्रकारले भने, “हामीले ती तीनजना मन्त्रीलाई शपथ गराउनुपर्ने कुरा राख्यौं, सभापतिज्यू र इन्द्रजी दुवैले सहमति जनाउनुभयो। त्यसैले अब मुख्यमन्त्रीले भोलि राजीनामा दिनुहुन्छ।”

लामाले साउन १४ गते नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजय भोगेका थिए। निर्वाचन अघि उनले आफ्ना निकटका तीन जनालाई मन्त्रीमा नियुक्त गरेपछि सत्ता साझेदार नेकपा एमालेले उनीहरूको शपथ ग्रहण रोकिदिएको थियो। यो नियुक्ति नै पछिल्लो राजनीतिक रस्साकस्सीको मुख्य विषय बनेको थियो।

पार्टीभित्रको आन्तरिक असमझदारीलाई व्यवस्थापन गर्न सभापति देउवाले शनिबार बूढानीलकण्ठ निवासमा छलफलको आयोजना गरेका थिए। छलफलमा मुख्यमन्त्री लामाका पक्षमा रहेका १४ जना प्रदेशसभा सदस्यहरूको पनि सहभागिता थियो।

यसैबीच, दलभित्र देखिएको विभाजनलाई एकताबद्ध गर्दै अघि बढ्ने विषयमा पनि छलफल भएको चित्रकारले जानकारी दिए। “दल दुई भागमा विभाजित भएको छ, तर हामी सरसल्लाह अनुसार अघि बढ्ने सहमतिमा पुगेका छौं,” उनले भने।

यो सहमतिसँगै बागमती प्रदेशको राजनीतिक गतिरोध अन्त्य हुने संकेत देखिएको छ। अबको केही दिनभित्र प्रदेशमा नयाँ सरकार गठन हुने सम्भावना बलियो बनेको छ।

प्रकाशित मिति : २०८२ साउन १८ गते शनिवार