बागमती प्रदेशका मुख्यमन्त्री लामाले शनिबार पदबाट राजीनामा दिने



बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा शनिबार पदबाट राजीनामा दिन लागेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको हस्तक्षेपपछि उनले राजीनामा दिन सहमति जनाएका हुन्।

मुख्यमन्त्री लामाले बिहीबार देउवासँग भेट गरेका थिए। सो भेटमा देउवाले उनलाई राजीनामा दिएर कांग्रेस संसदीय दलका नवनिर्वाचित नेता इन्द्र बानियाँलाई मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए। देउवाको निर्देशनपछि लामाले शनिबार राजीनामा दिने जानकारी प्रदेशसभा सदस्य तीर्थ लामाले दिएका छन्।

एक वर्षे कार्यकालपछि अविश्वास प्रस्ताव
संसदीय दलको नेताका रूपमा एक वर्ष बिताएका लामाविरुद्ध कांग्रेसकै २२ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। हाल बागमती प्रदेशसभामा कांग्रेसका ३७ सांसद छन्। संसदीय दलको नेताका लागि हालै भएको निर्वाचनमा इन्द्र बानियाँ विजयी भएका थिए। बानियाँले २२ मत पाउँदा लामाले १४ मत मात्रै पाए। एक मत बदर भएको थियो।

नेतामा पराजित भएपछि लामा सहजै पदबाट हट्ने अपेक्षा गरिए पनि उनले संविधानको धारा १६८ को उपधारालाई उद्धृत गर्दै अडान जारी राखेका थिए। यद्यपि, स्वास्थ्य कारण देखाएर प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अनुपस्थित भएपछि लामाले बिहीबार गर्न लागेको मन्त्रिपरिषद् विस्तार पनि रोकिएको थियो।

दलको विधानअनुसार नेतृत्व पाउन नेता हुनुपर्ने
कांग्रेस संसदीय दलको विधानअनुसार प्रदेश सरकारको नेतृत्व गर्न संसदीय दलको नेता हुनैपर्ने प्रावधान छ। विधानको दफा ६ को उपदफा १० मा: “पार्टीले प्रदेश सरकार गठन गरेको अवस्थामा नेताको हैसियतमा सरकार नेतृत्व प्रदान गर्ने” उल्लेख छ।

यसै व्यवस्था अनुसार बानियाँ र उनका पक्षधर नेताहरू लामालाई राजीनामा दिन दबाब दिइरहेका थिए। अन्ततः देउवाको निर्देशनपछि लामा पछि हट्न तयार भएका हुन्। अब बानियाँको नेतृत्वमा सरकार गठनको गृहकार्य सुरु भइसकेको छ। लामाको राजीनामापछि बागमती प्रदेशमा कांग्रेस नेतृत्वको नयाँ सरकार बन्ने पक्का जस्तै देखिएको छ।

प्रकाशित मिति : २०८२ साउन १७ गते शुक्रवार