काठमाडौँ । बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूको शपथग्रहण समारोह आज (विहीबार) दिउँसो १ बजे हुने भएको छ। मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाका अनुसार शपथग्रहण कार्यक्रम निर्धारित समय अनुसार आज सम्पन्न हुनेछ। नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रमका कारण शपथग्रहण एक दिन ढिलो गरी आज तोकिएको हो।
यसैबीच, कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी भएका छन्। मुख्यमन्त्री लामालाई पराजित गरेका बानियाँले बहुमतको समर्थन आफूलाई भएको दाबी गर्दै मुख्यमन्त्रीबाट राजीनामा दिन दबाब दिइरहेका छन्।
प्रकाशित मिति : २०८२ साउन १६ गते बिहिवार





