काठमाडौँ । सिगास गाउँपालिका-४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र कान्धारकी अनमी जानकी पुजाराले मुखमार्फत ६ घण्टासम्म कृत्रिम श्वास दिई एक नवजात शिशुको ज्यान बचाएकी छन्। उनको यो साहसी कार्यको प्रशंसा गर्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले व्यक्तिगत रूपमा फोन गरेर धन्यवाद र स्याबासी दिएका छन्।
बुधबार अपरान्ह ५ बजे मन्त्री पौडेलबाट फोन आएपछि अनमी जानकी छक्क परिन्। मन्त्रीले भने, “बच्चाको ज्यान बचाएर तपाईंले उदाहरणीय कार्य गर्नुभएको छ। तपाईंजस्ता समर्पित स्वास्थ्यकर्मीको देशलाई आवश्यकता छ।”
अनमी जानकीले पनि मन्त्रीको सराहनाप्रति हर्ष प्रकट गर्दै भनिन्, “मैले जुनसुकै परिस्थितिमा पनि मेरो कामप्रति अडिग रहने बाचा गरेकी छु। यस्तो मान्यता पाउँदा थप जिम्मेवारी महसुस भएको छ।”
गत बिहीबार राति २० वर्षीया महिलाले जन्म दिएको शिशुको अवस्था जटिल भएपछि उद्धार असम्भव हुने देखिएको थियो। यस्तो अवस्थामा जानकीले ६ घण्टा निरन्तर मुखबाट श्वास दिँदै शिशुको ज्यान जोगाएकी हुन्।
यो खबर प्रकाशित भएपछि उनको साहसिक कार्यको चर्चा व्यापक भएको हो। मन्त्री पौडेलले यस्ता समर्पित कर्मचारीलाई प्रत्यक्ष प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको बताए।






