बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, लम्साल, श्रेष्ठ र गुरूङ मन्त्रीमा नियुक्त



हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् विस्तार गर्दै तीन जना नयाँ मन्त्री नियुक्त गरेका छन्। बुधबार उनले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्रीमा नियुक्त गरेका हुन्।

लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। तर, माया श्रेष्ठ र गीता गुरूङलाई कुन मन्त्रालय दिने भन्ने निर्णय हुन बाँकी रहेको प्रदेश सरकार स्रोतले जनाएको छ।

यसअघि नेपाली कांग्रेसको तर्फबाट नियुक्त पाँच मन्त्रीहरूले लामाविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्दै राजीनामा दिएका थिए। साउन ९ गते चारजना र १३ गते एकजनाले पदत्याग गरेका थिए, जसले गर्दा पाँच मन्त्रालय रिक्त थिए। हाल गरिएको नियुक्तिसँगै ती रिक्त मन्त्रालयमा मन्त्री पदपूर्ति प्रक्रिया अगाडि बढाइएको छ।

मुख्यमन्त्री लामाको नेतृत्वमा चलिरहेको गठबन्धन सरकारमा पछिल्लो समय राजनीतिक उतारचढाव देखिएको छ, जसको प्रत्यक्ष असर मन्त्रिपरिषद्को संरचनामा परेको हो।

प्रकाशित मिति : २०८२ साउन १५ गते बुधवार