
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। मंगलबार हेटौंडामा बसेको कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो।
श्रेष्ठ नेतृत्वको समितिमा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य रहेका छन्। बैठक प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको थियो। निर्वाचन समितिको आजै बस्ने बैठकले संसदीय दलको नेताको चयनका लागि कार्यतालिका तय गर्ने तयारी गरिएको छ। स्रोतका अनुसार संसदीय दलको नेताको निर्वाचन बुधबार गरिनेछ।
यसअघि कांग्रेस संसदीय दलको नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङविरुद्ध मंगलबार दिउँसो अविश्वास प्रस्तावमा भएको मतदानमा पराजित भएपछि नयाँ नेताको चयन प्रक्रिया अघि बढाइएको हो।
मत विभाजनमा कांग्रेसका ३५ जना प्रदेश सांसदहरूमध्ये २१ जनाले लामाविरुद्ध अविश्वासको पक्षमा मतदान गरेका थिए भने १५ जना मात्र लामाको पक्षमा उभिएका थिए।
संसदीय दलको नेता पद रिक्त भएसँगै नयाँ नेताको दौड सुरु भएको छ। पार्टीभित्र चर्चित नाम इन्द्रबहादुर बानियाँ स्वयं पनि नेतृत्वको दौडमा छन्। यही बानियाँको अगुवाइमा मुख्यमन्त्री लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो।