
काठमाडौं । बागमती प्रदेश सरकारकाे खेलकुद मन्त्रीबाट हिजो मात्रै राजिनामा दिएका मिनकृष्ण महर्जनले हालका मुख्यमन्त्री बहादुरसिंह लामालाई नैतिक जिम्मेवारीको उदाहरण प्रस्तुत गर्न आग्रह गरेका छन्। महर्जनले २०५६ सालको संसदीय इतिहासको प्रसंग उठाउँदै कांग्रेसका संस्थापक नेता कृष्ण प्रसाद भट्टराई (किसुनजी)को शैली अनुसरण गर्न सुझाएका छन्।
महर्जनले सामाजिक संजालमा लेखेका छन्,‘२०५६ सालको संसदीय निर्वाचन पछि कांग्रेस सस्थापक नेता कृष्ण प्रसाद भत्तराई प्रधानमन्त्री हुनु भयो। प्रधानमन्त्री हुनु भएको ११ महिना पछि उहाँलाई कांग्रेसकै सांसदहरूले बहुमत सांसद सहित अबिश्वास प्रस्ताब दर्ता भयो, र किसुन नैतिकताको आधारमा जिले राजिनामा दिनु भयो। अब मुख्यमन्त्रीले पनि राजिनामा दिएर मार्ग प्रशस्त गर्नु पर्छ।’
महर्जन सहित कांग्रेसका चार मन्त्रीले हिजो मात्रै राजिनामा दिएका छन् । बजेट निर्माणसँगै बागमती सरकारभित्र नैतिकताको बहस सुरु भएको थियो भने विपक्षी तथा सत्ता साझेदार दलहरू समेत मुख्यमन्त्रीको भूमिकाप्रति प्रश्न उठाउन थालेका छन्।
बागमतीमा संसदीय दलको नेता फेर्न कांग्रेसका २१ सांसदले हिजो संसदीय दलमा निवेदन दिएका थिए । संसदीय दलको नेता इन्द्र बानियाँलाई बनाउन समेत उनीहरुले आग्रह गरेका छन् । अब कांग्रेसबाट इन्द्र बानियाँ बागमती प्रदेशको मुख्यमन्त्रीको दाबेदार बन्ने छन् । यससँगै अब बागमती प्रदेश सरकारमा नेतृत्व परिवर्तनको बहस चर्किने सम्भावना बढेको छ।