जनस्वास्थ्य कार्यालय ललितपुरकाे समन्वयमा बागमती गाउँपालिकामा आज देखि एम्बुलेन्स सञ्चालनमा !



ललितपुर | बागमती गाउँपालिकाका जनतालाई स्वास्थ्य सेवा लिन सहज होस् भन्ने उद्देश्यले पालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । बागमती गाउँपालिकाको भाैगाेलिक विकटतालाइ मध्यनजर गरेर जनतालाई आपतकालीन स्वास्थ्य सेवा लिन सहज हाेस भन्ने उद्देश्यले एम्बुलेन्स सञ्चालनमा ल्याएको पालिकाका अध्यक्ष वीर बहादुर लाेप्चनले बताए । एक भाैगाेलिक विकटता अर्को महामारीको संत्रासले शहरबाट हत्तपत्त एम्बुलेन्स गाउँ जान नमान्ने परिस्थितिले गर्दा समस्या आउनसक्छ भनेर जिल्ला जनस्वास्थ्य कार्यालयकाे पहलमा एम्बुलेन्सकाे व्यवस्था गरिएको पालिका अध्यक्ष लाेप्चनकाे भनाइ छ । बागमती गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स लकडाउनका कारण भन्सारमा रोकिएकाले हाललाई वैकल्पिक व्यवस्था गरिएको हाे ।

आज देखि अर्को व्यवस्था नभएसम्मको लागि बागमती गाउँपालिकालाई जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले सामुदायिक जीवन विकास केन्द्र इमाडोल ललितपुरले सञ्चालन गरिरहेको एम्बुलेन्स सञ्चालन गर्न समन्वय गरेको हाे । एम्बुलेन्सले बागमती गाउँपालिकाका जनताको सेवामा सहुलियत प्रदान गर्ने छ भने पालिका आसपासका जनतालाई पनि उक्त एम्बुलेन्सले सेवा प्रदान गर्नेछ । बागमती गाउँपालिकाका अध्यक्ष बिरबहादुर लोप्चनले एम्बुलेन्स चाहिएको खण्डमा आफ्नो व्यक्तिगत नम्बरमा समेत सम्पर्क गर्न सक्ने जानकारी दिए । उनले भने मेरो 9841335585 नम्बर चाैबिसै घण्टा जनताको सेवामा समर्पित छ तसर्थ केही समस्या भए सम्पर्क गर्न सक्नुहुन्छ । यस्तै पालिकाले सञ्चालनमा ल्याएको उक्त एम्बुलेन्सकाे सेवा लिन ९८५१२३७००० नम्बरमा सम्पर्क राख्नुपर्ने छ ।

बागमती गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष नवराज सञ्जेलकाे पहलमा आजैदेखि गाेदावरि मिड सिटी अस्पतालकाे एम्बुलेन्सले समेत सेवा दिने भएको छ । वडा नम्बर ७ काे पहलमा सञ्चालनमा आएको एम्बुलेन्स प्रयोग गर्नको लागि ९८४३८४९३३४‬ सम्पर्क गर्न वडाध्यक्ष सञ्जेलले सबैलाई आग्रह गरेका छन ।

प्रकाशित मिति : २०७७ जेष्ठ ७ गते बुधवार