तोसिमा कार्कीले जितिन् मुद्दा, सांसद पद कायम रहने



काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीको उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय बदर गरिदिएको छ । मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको रिटलाई जारी गरिदिएको हो ।

निर्वाचन आयोगले कार्कीले मुद्दा लड्न नपाउने भन्दै गरेको निर्णयविरुद्ध उनले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । उक्त रिट जारी गर्दै सर्वोच्चले निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण रहेको फैसला गरिदिएको हो ।

०७९ कात्तिक १२ मा निर्वाचन आयोगले नेपाल मेडिकल काउन्सिलको सदस्य रहँदा कार्कीले २०७९ वैशाख ९ देखि मिति २०७९ भदौ २ गतेसम्म भ्रमण भत्तास्वरूप एकलाख ३६ हजार ५०० रुपैयाँ आर्थिक लाभ लिएको पाइएको कारण देखाएर उनको उमेदवारी खारेज गर्ने निर्णय गरेको थियो । कार्कीलाई सार्वजनिक पद धारण गरेको व्यक्ति ठहराउँदै आयोगले प्रतिनिधिसभा सदस्यको उमेदवार हुन योग्यता पूरा गरेको नदेखिएको निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार