गिरीबन्धुदेखि मीनबहादुरसम्म मालामाल हुनेगरि सरकारले अध्यादेशबाटै फेर्‍यो २९ कानून



काठमाडौं । प्रतिनिधिसभामा प्रचण्ड बहुमत रहेको एमाले–कांग्रेसको संयुक्त सरकारले अध्यादेशमार्फत २९ वटा ऐनमा संशोधन गरेको छ ।

अध्यादेशले गिरीबन्धुलाई समेत फाइदा पुग्ने गरी हदबन्दी भन्दा बढी जग्गा बेच्न वा बैंकमा धितो राख्न दिने व्यवस्था गरेको छ । त्यस्तै मीनबहादुर गुरुङ, चूडामणि शर्मा लगायतका आरोपीहरु, जसलाई अदालतले बिगो जरिवाना तोकेको छ, उनीहरुलाई समेत फाइदा पुग्ने गरी अध्यादेशले फौजदारी कार्यविधिमा समेत हेरफेर गरेको छ ।

सरकारले तीनवटा अध्यादेशबाट कुल २९ वटा कानून संशोधन गर्ने निर्णय गरेर अनुमोदनका लागि राष्ट्रपति कार्यालयमा पठाएको हो ।

अध्यादेशले हालको घरजग्गा व्यवसाय गर्न हदबन्दीमा छुट दिइएको तर हदवन्दी बढीको जग्गा बिक्री गर्न रोक लगाउने कानुनमा परिवर्तन गरी घरजग्गा व्यवसायीले हदबन्दी भन्दा बढीको जग्गा स्वीकृति लिई तोकिएको अवधिभित्र विकसित गरी घरघडेरी बिक्री गर्न पाउने व्यवस्था गरेको छ । यसले अब झापास्थित गिरीबन्धु टी स्टेटको हदभन्दा बढी जग्गा बेच्न बाटो खुल्ने छ ।

त्यसैगरी अध्यादेशले शुरु अदालतबाट लागेको बिगो तथा जरिवाना तिर्न नसक्दा थुनामा बसेर पुनरावेदन गर्नु पर्ने र पछि निर्दोष ठहर हुँदा त्यस्ता व्यक्तिलाई अन्याय हुने हालको अवस्थालाई अन्त्य गरेको छ । यसले भ्रष्टाचारको मुद्दा खेपिरहेका विभिन्न व्यक्तिहरुलाई राहत पुग्ने छ ।

प्रकाशित मिति : २०८१ पुष २९ गते सोमवार