चितवन महोत्सवको १५ औं संस्करण पुस २५ गतेदेखि सुरू हुँदैछ। नारायणी नदीको किनारमा १५ दिनसम्म महोत्सव गर्न लागिएको हो। संघका अध्यक्ष सुमन श्रेष्ठले यसपालिको महोत्सवलाई पर्यटन विशेष बनाउन लागिएको बताए।
भरतपुर भ्रमण वर्ष २०२४ सकिएलगत्तै सुरू भएको महोत्सवले पर्यटकीय गतिविधिलाई निरन्तर राख्न सहयोग पुर्याउने उनी बताउँछन्। पर्यटनको अलावा स्थानीय उत्पादन, कला, संस्कृति, निर्माण, व्यवसाय लगायत स्टलहरू महोत्सवमा हुने उनले बताए।
‘देशमा आर्थिक मन्दी छ। व्यावसायिक वातावरण त्यति राम्रो छैन। उद्योगी, व्यापारीहरू निरास बनिरहेका छन्। यो अवस्थामा गर्न लागिएको महोत्सवले आशाको किरण छर्नेछ,’ अध्यक्ष श्रेष्ठले भने, ‘समग्र जिल्लाको आर्थिक अवस्थालाई महोत्सवले चलायमान गराउनेछ। आर्थिक, सामाजिक रूपान्तरणका लागि चितवन महोत्सव भन्ने सुरूआतदेखिको लक्ष्यलाई साकार बनाउन हामी लागेका छौं।’
मेला, महोत्सवका आ-आफ्नै उद्देश्य हुन्छन्। विशेषतः आर्थिक उपार्जनको उद्देश्यले अचेल धेरैजसो महोत्सवहरू हुने गरेका छन्। २८ वर्षअघि उद्योग वाणिज्य संघले नेपालमै पहिलो पटक आर्थिक र सामाजिक रूपान्तरणका लागि भनेर महोत्सव सञ्चालन गरेको थियो। २०५३ सालमा पहिलो पटक भएको महोत्सव त्यसयता हरेक २ वर्षमा भइरहेको छ।





