लोकसेवाले पाँचपटक भन्दा बढी आफ्नो परीक्षामा सहभागी हुन नपाउने गरी व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ। प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा शुक्रबार आयोगका पदाधिकारीहरुले यस्तो सुझाव दिएका हुन् ।
धेरैपटक लोकसेवाको परिक्षामा सहभागी हुन दिँदा व्यक्तिलाई मात्रै नभइ राज्यलाई समेत घाटा भइरहेको दाबी गर्दै अब लोकसेवाको परीक्षामा बढीमा पाँचपटक मात्रै सहभागी हुन पाउने गरी कानुन बनाउन आयोगको राय छ।
लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले भने, ‘फेल हुने मान्छे ५० पटक परीक्षा दिए पनि फेल नै हुन्छ। पाँच पटक दिँदा पनि फेल भयो भने उसलाई परीक्षामा सहभागी गराइ रहन आवश्यक हुन्न। गाउँमा बारी बाँझो छ। त्यहाँ जान उत्पेरित गर्नुपर्छ।’ भारतमा अधिकतम ६ पटक मात्रै परीक्षामा सहभागी हुन पाइने भएकाले नेपालमा पाँच गर्न उपयुक्त हुने उनको सुझाव छ।
आयोगले सरकारले विधेयकमा प्रस्ताव गरे जस्तै सेवा प्रवेश पुरुषको हकमा ३२ वर्ष र समावेशीको हकमा ३७ वर्ष उपयुक्त हुने सुझाव दिएको छ। अहिले निजामति सेवा प्रवेशको उमेर हद ३५ र ४० वर्ष छ।





