मैत्रीपूर्ण फुटबल खेलमा काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिको टिमले कर्मचारीको टिमलाई पराजित गरेको छ । महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले पनि एक गोल गरेका छन् ।
३० औँ महानगर दिवसको अवसरमा आज सैनिक मुख्यालय भद्रकालीको फुटबल ग्राउण्डमा भएको खेलमा प्रमुख ११ र प्रमुख प्रशासकीय ११ को भिडन्त भएको हो । खेलमा प्रमुख ११ को टिमले ५ गोल र प्रमुख प्रशासकीय अधिकृत ११ को टिमले २ गोल गरे ।
जनप्रतिनिधिको नेतृत्व मेयर बालेनले र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले गरेका थिए । उनीहरु दुवैले ६० मिनेटको पुरा अवधि खेले । महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले रेफ्रीलाई फुटबल दिएर खेल सुरु गराएकी थिइन् ।
प्रमुख ११ कातर्फबाट प्रमुख शाहसँगै सन्तोष ढुङ्गेलले २ गोल, नविन भण्डारीले १ गोल र विनय शाक्यले १ गोल गरे । खेलको दोस्रो हाफमा बालेनले पेनाल्टीबाट गोल गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृत ११ का तर्फबाट राजु पौडेलले २ गोल गरेका थिए ।





