वडाअध्यक्षले नै लगाए वडा कार्यालयमा ताला



सुर्खेत । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ का वडाध्यक्ष इन्द्र चौलागाईंले आफ्नै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । उनले आइतबार तालाबन्दी गरेको कुरा सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका हुन् ।

उनले भनेका छन्, ‘कर्मचारी नहुञ्जेलसम्मका लागि यो कार्यालय बन्द भएको जानकारी गर्दछु । जम्बुकाँध नगरपालिकामा जानुहोला ।’ जम्बुकाँध नगरपालिकाको कार्यालय हो । चौलगाईँले वडा कार्यालयमा एक जना पनि कर्मचारी नभएकाले आफैँले तालाबन्दी गरिदिएको बताए । ‘मैले आफ्नै वडा कार्यालयमा ताला लगाइदिए,’ उनले भने, ‘६७ दिन भयो कर्मचारी कोही आएनन् ।’

उनका अनुसार वडा कार्यालयहरू करार कर्मचारीका भरमा चल्दै आएका छन् । नगरपालिकाले आन्तरिक स्रोतले तलबभत्ता खुवाउन नसक्ने भन्दै दुई महिनाअघि सम्पूर्ण करार सेवाका कर्मचारीलाई हटाइदिएको थियो । त्यसयता वडा कार्यालय कर्मचारीविहीन भएका छन् । आफ्नो वडामा एउटा कार्यालय सहयोगी मात्रै रहेको र ती कार्यालय सहयोगी पनि बिरामी परेको भन्दै नआएको वडाध्यक्ष चौलागाईँले बताए ।

प्रकाशित मिति : २०८१ मङ्सिर ९ गते आइतवार