बाैद्ध बिहार संघ ललितपुरको नयाँ नेतृत्व चयन



ललितपुर । बौद्ध बिहार संघ ललितपुरको ४९ ओैं साधारणसभाबाट नयाँ संचालक समिति चयन भएको छ ।आज सम्पन्न साधारणसभाले रत्नाकर महाबिहारका प्रतिनिधि करुणा रत्न बज्राचार्यकाे अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको निर्वाचन अधिकृत पुष्परत्न शाक्यले जानकारी दिनुभयो ।

निर्वाचन अधिकृत शाक्यले दिनुभएको जानकारी अनुसार उपाध्यक्ष पदमा मणि मण्डप महाबिहारका पुष्प शाक्य, मयुर वर्ण महाविहारका सुरेन्द्र बज्राचार्य, हिरण्यवर्ण महाविहारका राजु बज्राचार्य र दत्तनाम महाबिहारका अमोघ बज्र बज्राचार्य निर्विरोध निर्वाचित हुनुभएको हाे।

महासचिवमा यशोधर महाबिहारका बाबु राजा बज्राचार्य निर्विरोध निर्वाचित हुनुभयो ।सचिव पदमा ललितवर्ण महाविहारका दिपक शाक्य, काेषाध्यक्षमा गोपी चन्द्र महाबिहारका नरेश शाक्य र सहकाेषाध्यक्षमा बैश वर्ण महाविहारका रबिन्द्र शाक्य निर्विरोध चयन हुन सफल हुनुभएको छ।

कार्यसमिति सदस्यहरुमा निर्विरोध निर्वाचित हुनेहरुमा रुद्र बर्ण महाबिहारका किशोर शाक्य, सप्तपुर महाविहारका हेम रत्न शाक्य, धर्म किर्ति महाबिहारका सरोज बज्राचार्य, रक्षेश्वर महाविहारका रूप कुमार शाक्य, गुण लक्ष्मी महाबिहारका बुद्ध रत्न बज्राचार्य, सुरशचन्द्र महाबिहारका सुनिल शाक्य, लोका किर्ति महाविहारका राजेश बज्राचार्य, श्रीबच्छ महाविहारका वत्स कुमार शाक्य, बलाधर गुप्त महाविहारका दिनेश शाक्य, यम्पि महाविहारका विनोद राज शाक्य, र नापी चन्द्र महाविहारका शैलेन्द्र राज शाक्य हुनुहुन्छ ।

“२१ सदस्यीय कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा कुनै पनि उम्मेदवारी नपरेकोले यस वर्ष उक्त पद खाली नै रहनेछ, अध्यक्षकाे सिफारिसमा कार्यसमितिले चार जना सदस्यहरु मनाेनयन गर्ने व्यवस्था रहेको छ।” निर्वाचन अधिकृत शाक्यले भन्नुभयो ।

वि.सं. २०३२ मंसिर १ गते हिरण्यवर्ण महाविहारमा स्थापना भएको बाैद्ध विहार संघमा हाल ललितपुरका ३० वटा वाैद्ध विहारहरुकाे प्रतिनिधित्व रहेकाे निर्वतमान अध्यक्ष नानीकाजी शाक्यले जानकारी दिनुभयो।

“ललितपुरमा २ सय ५० भन्दा बढि बिहारहरु छन्, सबैलाई सदस्य बनाउन सकिएकाे छैन, मुख्यमुख्य महाविहारबाट मात्रै प्रतिनिधित्व हुने व्यवस्था रहेको छ।” उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २०८१ मङ्सिर ३ गते सोमवार