रान उपमहानगरपालिका मेयर हर्क साम्पाङ झन्डै दुई सातादेखि पत्रकार सन्जिता धमलाविरूद्ध फेसबुकमा लेख्नेदेखि लिएर सडक प्रदर्शनसम्म गरिरहेका छन्। बुधबार उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पुगेकी पत्रकार धमलामाथि मेयर साम्पाङका ‘कोर टिम’ का सदस्यहरूले आक्रमण नै गरे।
अस्पताल परिसरमा आक्रमण गर्नेहरूलाई प्रहरीले पक्राउ गरेपछि यति बेला आक्रमणकारीको पक्षमा उभिँदै मेयर साम्पाङ उनीहरूको रिहाइको माग गर्दै सडकमा कोण सभा गरिरहेका छन्।
मेयर साम्पाङले भने पत्रकारमाथि आक्रमण गर्नेहरूलाई अझै हौसला दिँदै धरानको इज्जतका लागि लडेको भन्दै सञ्जालबाटै स्याब्बासी दिएका छन्।
त्यति मात्रै होइन, अस्पतालभित्रै पसेर आक्रमण गर्नेहरूलाई ‘किन पक्रेको’ भन्दै धरानमा उनले चक्काजाम गर्न लगाएका छन्। कोण सभामा आफै उपस्थित भएर ‘गलत तत्वलाई नपक्रेको प्रहरीले मान्छे नचिनेको’ भन्दै उग्र भाषणसमेत गरेका छन्।
मेयर साम्पाङको यस्तो शैलीबाट धरान उपमहानगरका अरू जनप्रतिनिधिहरू पनि दिक्क भएका छन्। मेयरले पालिकाको कामको प्राथमिकता भुलेर एक व्यक्तिविरूद्ध लागेको आरोप उनीहरूको छ।
उपमहानगरका कर्मचारीहरू पनि पत्रकार धमला कार्यकक्ष पुगेको दिन (असार २१) देखि मेयर साम्पाङ सोही घटनामा केन्द्रित भएको बताउँछन्।
असार दोस्रो सातासम्म बहुसंख्यक स्थानीय तहले नीति कार्यक्रम तथा बजेट ल्याएर साउन १ देखि कार्यान्वयन थालिसके। तर धरानले साउन पहिलो साता बित्न लाग्दासम्म नगर सभा नै आयोजना गर्न सकेको छैन।





