रास्वपामा बज्यो ‘खतराको घण्टी’, मुकुल ढकालको प्रतिवेदनले तरंग



काठमाडौं । रास्वपाका महामन्त्री मुकुल ढकालले स्थापनाको छोटो समयमै संघीय संसद्‍का २१ सिट जित्न सफल रास्वपा संकटतिर धकेलिएको प्रतिवेदन सभापति लामिछानेलाई बुझाएपछि तरंग उत्पन्न भएको छ ।

गत जेठ ६ गतेदेखि देश यात्रामा निस्किएका उनले असार ६ गतेसम्म ३९ जिल्लाका नेता–कार्यकर्तासँग संवाद गरेर तयार पारेको प्रतिवेदन लामिछानेलाई बुझाएका छन् ।

महामन्त्री ढकालले वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपा र सभापति लामिछानेको लोकप्रियता खस्किँदै गएको ‘विश्लेषण प्रतिवेदन’ बुझाएपछि पार्टीभित्रै उनको घेराबन्दी सुरु भएको छ ।

ढकालले उक्त प्रतिवेदनमा सभापति तथा उपप्रधान एवम् गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा मुछिएपछि पार्टीको आकार घट्दै गएको उल्लेख गरेका छन् ।

जनतालाई पार्टीको नीति र सिद्धान्त बुझाउन नसकेकाले पनि संगठन विस्तारमा थप समस्या भएको उनको निष्कर्ष छ । उनको प्रतिवेदनमा गाउँ-गाउँ र टोलटोलमा सानो आकारको संगठन निर्माण गर्नुपर्ने सुझाव पनि समेटिएको छ । जुन अभ्यास नेकपा एमाले र नेपाली कांग्रेसले गर्दै आएका छन् ।

ढकालले यही अवस्थामा चलिरहे आगामी वि.सं. २०८४ को निर्वाचनमा पार्टीको आकार फैलिनेभन्दा अहिलेभन्दा मसिनो भएर खुम्चिने चेतवानी पनि प्रतिवेदनमा दिएका छन् ।

‘केही कुराहरूमा पार्टी सचिएर र सुधारिएर जानु आवश्यक छ। यही तरिकाले हामी ०८४ मा गयौँ भने पार्टीको आकार अहिलेको भन्दा मसिनो हुन सक्छ’, उनको प्रतिवेदनमा भनिएको छ ।

उनीसँगै उपसभापति डा. स्वर्णिम वाग्लेले पनि पार्टीले अब सानो आकारको टोल कमिटी बनाउनुपर्ने बताइसकेका छन् । यस्तै प्रतिनिधि सभामा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि पार्टीमा केही कुराहरू सुधार गरेर जानु आवश्यक रहेको औँल्याएका छन् ।

ढकालसहितका नेताहरूले जेठ ६ गते पार्टी केन्द्रीय कार्यलय घण्टीघरबाट शुरू गरेको समीक्षा यात्रा ३८ जिल्लामा पुगेर टुंग्याएका छन् । उनले २ हजार ७९ जनाभन्दा बढीसँग दोहोरो अन्तर्क्रिया गरेको बताएका छन् ।

प्रकाशित मिति : २०८१ असार १४ गते बिहिवार