केही दिनमा समाजवादी मोर्चा बन्छ: प्रधानमन्त्री प्रचण्ड



प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा समाजवादी मोर्चा बन्ने बताएका छन्। शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै उनले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरू गरिने बताए।

‘जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन,’ उनले भने, ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरूरी छ।’

यस्तै माओवादी धारका कम्युनिष्ट घटकहरूबीच छलफल भइरहेको र शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमबाट टुंगो लगाउनुपर्छ भन्ने साझा मत रहेको पनि उनले बताए।

‘भोलि संयुक्त अपील गर्दैछौं, पत्रकार सम्मलेन गर्दछौँ। केही दिनमा समाजवादी मोर्चा बन्छ,’ उनले भने, ‘संसारमा एकपटक कम्युनिष्ट आन्दोलन पराजित भएपछि उठेर आएका विरलै दृष्टान्त छन्। चाहे पूर्वी युरोप हेर्नुस्, चाहे पश्चिम बंगाल वा अन्य ठाउँको क्रान्ति हेर्नुस्, क्रान्तिले धक्का खाएपछि उठ्न कठिन हुन्छ। नेपालमा पनि हामी चुनौती र सम्भावनाको दोसाँधमा छौँ। बृहत्तर वामपन्थी एकतामार्फत् चुनौती छिचोलेर समाजवादको ढोका खोल्नुपर्छ।’

यस्तै नेकपा एमालेभित्र पनि ठूलो पंक्ति बामपन्थीहरूको एकताको पक्षमा रहेको पनि उनले बताए।

‘एमालेभित्र पनि ठूलो पंक्ति बामपन्थीहरूको एकताको पक्षमा छ। हिजोको नेकपा फेरि पुनर्स्थापित गर्नुपर्छ भन्ने मत पनि त्यहाँ छ। त्यो मत क्रान्तिको हितमा छ, कम्युनिष्ट आन्दोलनको हितमा छ। त्यसैले हामीले नै एकताको अग्रसरता लिनुपर्छ,’ उनले भने, ‘एमालेको मूल नेतृत्व कम्युनिष्ट एकताको विरूद्धमा छ, नेकपा विभाजित हुँदा हिजो जसले दीपावली गर्यो, पार्टी एकता भाँड्यो, त्यो शक्ति र प्रवृत्तिबाहेक एमालेभित्र पनि अधिकांश नेता–कार्यकर्ता फेरि नेकपा चाहिन्छ भन्नेमा छन्।’

प्रकाशित मिति : २०७९ फाल्गुन २७ गते शनिवार