जनताको सावधानीका कारण बागमती गाउँपालिकामा काेराेना संक्रमण देखिएन : उपाध्यक्ष घिमिरे



ललितपुर बैशाख १६। यतिबेला विश्व नै काेराेना महामारीसँग लडिरहेको छ । विकसित देशहरूलाई समेत चुनाैति दिएको याे महामारीले नेपाललाई जाेखिममा नपार्ने कुरै भएन । सरकारले तत्काल गरेको सावधानीले नेपाल उच्च जाेखिममा भने पुगेन । अहिलेसम्म कसैले पनि नेपाल भित्र काेराेनाकाे कारण ज्यान गुमाउन परेको छैन । यसै सन्दर्भमा स्थानीय सरकारले के कस्तो काम गरेको छ? काेराेना भाइरसकाे जाेखिमसँग कसरी लडिरहेका छन स्थानीय सरकार भनेर हामीले बुझ्ने प्रयास गरेका छाैँ । आज हामी कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि बागमती गाउँपालिकाले के कस्ता प्रयासहरु जारि राखेको छ? के कस्तो सावधानी अपनाएको छ ? बुझ्ने प्रयास गर्दैछाैँ । यसै विषय केन्द्रित रहेर हामीले बागमती गाउँपालिकाकि उपाध्यक्ष रञ्जना घिमिरेसँग कुराकानी गरेका छाैँ । प्रस्तुत छ उपाध्यक्ष घिमिरेको भनाइ उहाँकै शब्दमा :

विश्व महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) हाल विश्वको अधिकांश देशहरुमा फैलिसकेको छ । नेपालमा पनि हालसम्म ५४ जना कोभिड–१९ को संक्रमित फेला परेकोमा १६ जना यो राेगलाई जितेर घर फर्किसकेका छन । हालसम्म यस बागमती गाउँपालिकामा कसैलाई पनि संक्रमण देखिएको छैन, जुन खुशीको कुरा हो । गाउँ बासीहरुको सहयोग र सावधानीको कारण हालसम्म संक्रमण नदेखिएको उपाध्यक्ष घिमिरेको बुझाई छ ।

उपाध्यक्ष घिमिरे भन्नुहुन्छ “काेराेना संक्रमण फैलिएन भनेर हामीले सतर्कता अपनाउन छोड्नु हुँदैन । हामीले संक्रमणकाे जोखिम न्युनिकरणको लागि सक्दो प्रयासहरु जारी राखेका छौँ । विश्वमा नै काेराेना संक्रमणकाे गम्भीर अवस्था देखिनु र छिमेकी राष्ट्रमा पनि संक्रमणको संख्या दिन प्रतिदिन बढ्दै जानु चिन्ताकाे विषय थियो र छ नै । संक्रमणलाई देशमा भित्रिन तथा फैलिनबाट रोक्न लकडाउन नै उत्तम उपाय भएको हुँदा नेपाल सरकारले चैत्र ११ गतेबाट शुरु गरेको लकडाउन बैशाख २५ गते सम्मलाइ थप गर्ने निर्णय गरेको छ जुन उपयुक्त छ । ”

गाउँबासीलाई कोभिड–१९ संक्रमणबाट बचाउन र क्षति न्युनिकरणको मनसायले राज्यद्धारा अवलम्वन गरेको विधिलाई यस बागमती गाउँपालिकाले पूर्ण रुपमा पालना गर्न सबैलाई आव्हान गरिसकेको छ । सिमित स्रोतका बाबजुत पनि बागमती गाउँपालिकाले कोरोना भाइरस को जोखिम न्यूनीकरणको लागि सक्रिय भएर लागेको लागेको छ । कोरोना भाइरसको सङ्क्रमणवाट बच्न बागमती गाउँपालिकाले उच्च सर्तकता अपनाएको छ । छाेटाे समयमा धेरै काम गर्नुपर्ने समस्याका बाबजुद पनि पालिकाले विपद व्यवस्थापन समिति नै गठन गरी बजेट देखी, क्वारेन्टाइन कक्ष निर्माण गर्दै अघि बढेको पनि छ । कोरोना भाइरस जस्ता महामारी र विपदको लागि गाउँपालिकाले २५ लाखको विपद व्यवस्थापन कोष स्थापना गरेकाे छ । साथै प्रदेश सरकार बाट थप १०लाख रुपैयाँ उक्त काेषमा जम्मा भएको छ ।

गाउँपालिकाले कोरोनाबाट बच्न पहिलो चरणमा सचेतनासँगै गाउँ क्षेत्र भित्र सबै लाई जनचेता मुलक सामाग्री बितरण , विभिन्न स्थानमा हात धुने ठाउँको व्यवस्था गर्ने देखी सामाजिक दुरी कायम गराउन ,कोरानाबाट बच्ने उपायका बारेमा पालिका भित्र माईकीङ र निरन्तर अनुगमन कार्य गरिरहेको छ । उपाध्यक्ष घिमिरे भन्नुहुन्छ ” लकडाउन लम्बिँदा पालिका भित्रका विपन्न परिवार र ज्याला मजदुरी गर्नेहरु समस्यामा परे पछि पालिकाले त्यस्ता परिवारको तथ्याङ्क संकलन गरी राहत वितरण गरेकाे छ । ”

राज्यद्वारा निर्देशित नीति, नियम तथा मापदण्डहरुलाई लागु गरी समयमा नै स्वास्थ्यकर्मीहरुको तयारी, स्वास्थ्य संस्था व्यवस्थापन, औषधी तथा उपकरणको उपलब्धता, पि.पि.ई वितरण र जनतालाई कोभिड–१९ को संक्रमण र रोकथामबाट बच्ने उपायहरु जनतामाझ माइकिङ्ग, पर्चा पम्पलेटिङ र सामाजिक संजाल मार्फत संम्प्रेषण गर्ने कार्यहरु गरिएको छ । पालिका भित्र खाद्यान्नको अभाव हुन नदिन खाद्यान्न पसल निश्चित समयमा सामाजिक दुरी कायम गरी खाेल्ने व्यवस्था मिलाइएको छ । स्थानीय प्रशासन समेतको सहभागीतामा बजार क्षेत्रमा भिडभाड हुन नदिने उपायहरू अवलम्बन गरिएको छ । वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरुलाई कोरोना संक्रमण रोकथामको विरुद्धमा आ–आफ्नो वडामा समन्वयात्मक हिसाबले युद्धस्तरमा खटिन अनुरोध गरिएको छ र साेहि अनुसार खटिरहनु भएको पनि छ ।

यस गाउँपालिकामा विदेशबाट आएका व्यक्तिहरुको तथ्याङ्क संकलन गरि होम क्वारेन्टिनमा बस्न अनुरोध गरिएको र यस्ता व्यक्तिहरुको परिवार तथा आफन्तलाई पनि सचेत हुन आग्रह गरिदैँ आइएकाे छ । पालिका भित्रका संकास्पद व्यक्तिहरु कोभिड–१९ बाट संक्रमित भए नभएको यकिन गर्न ल्याव टेस्टको प्रकृया अगाडी बढाइएको छ । हाल सम्म २१ जनाको RDT परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । बागमती गाउँपालिकाले आफ्ना जनतालाई जोखिम मुक्त बनाउने उद्देश्यले वडा नम्बर ३ स्थित भटे्डाडा आधारभुत विद्यालयमा १० शैयाको क्वारेन्टाइन वार्ड तयार गरेको छ ।

विश्व भरि फैलिएको कोरोना भाइरसको महामारीसंग लड्न स्वाथ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी एवम सामाजिक अगुवाहरु सामान्य सुरक्षा उपकरण बिना अग्रमोर्चामा खटिएकोमा उहाँहरूलाई हृदय देखि नै आभार प्रकट गर्दछु । लकडाउनका कारणले श्रमिक, विपन्न वर्ग, अपाङ्ग, तथा गरिब परिवारलाई दैनिक गुजारा चलाउन मुस्किल परिरहेको अवस्थालाई ध्यानमा राखी नेपाल सरकारको नीतिमा रहेर वडा अध्यक्ष ज्यूहरुको अध्यक्षतामा सर्वदलिय राहत वितरण समिति गठन गरी चामल, दाल, तेल, लगायतका खाद्यान्न वडा स्तरमा वितरण गरिएको छ ।

बागमती गाउँपालिकाले कोरोना विरुद्धको लडाईलाई जित्न कुनै कसर बाँकी राखेकाे छैन । राजनैतिक दल, समाजसेवी, जनप्रतिनिधि एवं सम्पूर्ण आम नागरिकले पालिकासँग एक्यवद्धता जाहेर गरि कामहरु गर्दै आईरहेका छन । काेराेना महामारीको अवस्था र त्यसपछि हुनसक्ने जाेखिमहरुकाे विषयमा विज्ञहरुसँग परामर्श गरिरहेका छाैँ । पालिका भित्र सक्दाे सचेतना र सावधानी अपनाइएको छ । अबका दिनहरुमा पनि यस संक्रमणबाट बागमती गाउँपालिका भित्रका कोहि पनि हताहत हुन नपरोस भनि समय सापेक्ष कार्यक्रम र स्वास्थ्य सेवा संचालन गर्न गाउँपालिका कटिबद्ध रहेको छ । कुनै आपतकालीन सेवा आवश्यक पर्ने अवस्था आयो भने गाउँपालिकामा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रकाशित मिति : २०७७ बैशाख १६ गते मङ्गलवार