मेयर बालेनकाे चुनावी खर्च जम्मा ४ लाख, यस्तो छ सार्वजनिक विवरण



काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। आज उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् स्थानीय निर्वाचनमा भएको खर्च को विवरण सार्वजनिक गरेका हुन्।

उनले सार्वजनिक गरेको विवरणअनुसार स्थानीय चुनावमा झन्डै चार लाख रूपैयाँ खर्च भएको छ।

खर्च सार्वजनिक गर्दै उनले फेसबुकमा लेखेका छन्,‘खर्चको विवरण केही समयअगाडि नै सार्वजनिक भइसक्नुपर्ने थियो। तर विभिन्न कारणले ढिलो भएकामा माफी चाहन्छौं। हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरानब्बे हजार चार सय उनानब्बे रूपैयाँ (३,९४,४८९) भएको छ।’

खर्चको विवरण केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने थियो तर विभिन्न कारणहरुले सो ढिलो भएकोमा माफी चाहन्छौँ । हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरनब्बे हजार चार सय उननब्बे रुपैयाँ (रु. ३,९४,४८९ /-) भएको छ । जसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढि भएको थियो । मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महंगो बनाइरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ ।

र, भन्नै पर्ने कुरा छ – एउटा उम्मेदवारका रुपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबै भन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि संख्या राखेर देखाउन सक्दैन । त्यो अमुल्य साथ र विश्वासले दिएको जिम्मेवारी पुरा गराउँन हामी हरसमय खटिरहनेछौँ ।

प्रकाशित मिति : २०७९ असार ६ गते सोमवार