नेपाली श्रमिक काेरिया पठाउन अप्ठ्यारो हुँदा कार्यविधि संशोधन गरिदै



काठमाण्डौ । झण्डै डेढ वर्षदेखि रोकिएको दक्षिण कोरियाको रोजगारी खुलाउन सरकारले कार्यविधि नै संशोधन गर्ने भएको छ। नेपालबाट सीधै उडान मार्फत श्रमिक कोरिया पुग्नु पर्ने सर्त सो मुलुकले राखेपछि त्यसका लागि कार्यविधि नै संशोधन गर्नुपर्ने भएको हो। कार्यविधि संशोधनका लागि वैदेशिक रोजगार विभागले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सुझाव पठाइसकेको विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताए।

यसअघि दक्षिण कोरिया जाने श्रमिक जुन उडानबाट सस्तो हुन्छ, त्यसैबाट ट्रान्जिट हुँदै जाने गरेका थिए। तर, अहिले सीधै कोरिया पुग्नु पर्ने सर्त राखेपछि अप्ठेरो परेको हो। नेपालबाट दक्षिण कोरियासम्म कोरियन एयरलाइन्सले मात्रै सीधा उडान गर्छ। यसअघि कार्यविधिमा सबैभन्दा कममा जसले लैजाने टेन्डर हाल्छ, श्रमिक लैजाने जिम्मा उसैलाई दिइँदै आएको थियो। कोरिया जाने हवाई भाडा लगायत सम्पूर्ण खर्च श्रमिक आफैँले बेहोर्नुपर्छ।

अब कोरियन एयरलाइन्ससँग छलफल गरेर सोहीअनुसार श्रमिक जाने व्यवस्था गर्न वा सबैभन्दा कम भाडामा लैजाने भन्ने प्रावधान हटाउन विभागको सुझाव छ। सोही अनुसार कार्यविधि संशोधनको प्रक्रिया श्रम मन्त्रालयले अगाडि बढाएको हो। कोरियाले राखेका अरु दुई सर्त पालना गर्न भने यसअघि नै श्रमिक तयार भइसकेका छन्। श्रमिक कोरिया पुगेपछि आफ्नै खर्चमा क्वारेन्टिन बस्नु पर्ने र कोभिड बिमा गर्नु पर्ने सर्त पनि सो मुलुकले अघि सारेको छ। तर मुख्य समस्या उडान देखिएपछि कार्यविधि संशोधनको प्रक्रिया अगाडि बढाइएको हो । नेपाल खबर बाट

प्रकाशित मिति : २०७८ साउन १९ गते मङ्गलवार