विकाश हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत बोनस सेयर पारित



काठमाडौं । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको सभा २०८३ असोज २९ गते बिहीबार बिहान ९ः३० बजे काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्ट दरबार प्रा.लि.मा सम्पन्न भएको हो।

सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा कम्पनीको वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ। सभाबाट कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेका लाभांश वितरण, पुँजी वृद्धि तथा अन्य प्रस्तावहरूलाई समेत स्वीकृति प्रदान गरिएको छ।

१० प्रतिशत बोनस सेयर र नगद लाभांश पारित

सभाले कम्पनीको हाल कायम चुक्ता पुँजी ९० करोड ९१ लाख ९ हजार ३०० रुपैयाँको १० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसअनुसार सेयरधनीले कुल ९ करोड ९ लाख १० हजार १३० रुपैयाँ बराबरको बोनस सेयर प्राप्त गर्नेछन्।

त्यसैगरी, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतका दरले ४७ लाख ६४ हजार ६०० रुपैयाँ १४ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित भएको छ।

पुँजी वृद्धि तथा प्रबन्धपत्र संशोधनलाई स्वीकृति

सभाले बोनस सेयर वितरणपछि कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव स्वीकृत गरेको छ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्दै नियमनकारी निकायबाट कुनै संशोधन वा सुझाव प्राप्त भएमा सोहीअनुसार आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ।

नयाँ लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित

सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरेको छ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि २०८३ असोज १९ गते एक दिन सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो। सोअनुसार असोज १८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरू लाभांश प्राप्त गर्न योग्य भएका छन्।
सभाबाट पारित प्रस्तावअनुसार बोनस सेयर वितरण तथा कम्पनीको पुँजी संरचनासम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइनेछ।

प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रवार