श्वेत–गंगा हाइड्रोपावरको १०औँ वार्षिक साधारण सभा सम्पन्न, खुद नाफा ९७० प्रतिशतले वृद्धि



काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १०औँ वार्षिक साधारण सभा असोज २७ गते काठमाडौंको चण्डोलस्थित कुण्डलिनी दरबार ब्याङ्क्वेटमा सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष शिवकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न सभामा शेयरधनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कम्पनीले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा १७ करोड ६३ लाख ६७ हजार ९१४ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा कम्पनीको खुद नाफा करिब ९७० प्रतिशतले वृद्धि भएको हो।
रामेछाप र ओखलढुङ्गाको सिमानामा बहने लिखु नदीमा निर्माण गरिएको २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजनाबाट नियमित रूपमा विद्युत् उत्पादन तथा बिक्री हुन थालेपछि कम्पनीको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको हो।

विद्युत् बिक्रीबाट ८४ करोडभन्दा बढी आम्दानी

कम्पनीका अनुसार समीक्षा अवधिमा विद्युत् बिक्रीबाट ८४ करोड ७० लाख ९५ हजार ४३५ रुपैयाँ आम्दानी भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा आठ प्रतिशतले बढी हो। त्यस्तै, कम्पनीको कुल आम्दानी ७५ करोड ८९ लाख ६१ हजार ७७७ रुपैयाँ पुगेको विवरण सार्वजनिक गरिएको छ।

आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ७ पैसा पुगेको छ। अघिल्लो आर्थिक वर्षमा प्रतिशेयर आम्दानी ११ पैसा रहेको थियो।

साँवा र ब्याज भुक्तानीमा पनि सक्रिय

कम्पनीले समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवाबापत २५ करोड ९१ लाख १९ हजार ८१५ रुपैयाँ र ब्याजबापत ३० करोड ८२ लाख २८ हजार २३७ रुपैयाँ भुक्तानी गरेको जनाएको छ।
कम्पनीका अनुसार नदीमा पानीको बहाव अनुकूल रहनु, सञ्चालन खर्चमा मितव्ययिता अपनाउनु तथा बैंक कर्जाको ब्याजदर घट्नुले नाफा वृद्धिमा योगदान पुर्‍याएको छ।

१४ करोड युनिटभन्दा बढी विद्युत् उत्पादन

तल्लो लिखु जलविद्युत आयोजनाले समीक्षा अवधिमा १४ करोड ३२ लाख ४ हजार ७०७ किलोवाट घण्टा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको छ।

वातावरणीय तथा प्राविधिक चुनौतीका बीच पनि आयोजनाको नियमित सञ्चालन, विद्युत् बिक्री र ऋण भुक्तानीलाई निरन्तरता दिँदै कम्पनीले आफ्नो वित्तीय अवस्था सुधार गरेको प्रतिवेदनले देखाएको छ।

खुद नाफा, प्रतिशेयर आम्दानी र विद्युत् बिक्रीबाट प्राप्त आम्दानीमा भएको वृद्धिले कम्पनीको वित्तीय कार्यसम्पादनमा सुधार आएको देखिएको छ। आगामी दिनमा आयोजनाको प्रभावकारी सञ्चालनमार्फत शेयरधनीको लगानीको प्रतिफल र कम्पनीको दीर्घकालीन वित्तीय स्थायित्वलाई थप मजबुत बनाउनु कम्पनीका लागि महत्त्वपूर्ण हुनेछ।

प्रकाशित मिति : २०८३ असोज २७ गते मङ्गलवार