काठमाडौँ — ककरोच जनता पार्टी (सीजेपी)ले प्रदर्शनको आह्वान गरिरहेका बेला चर्चित युट्युबर ध्रुव राठीलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।
बीबीसी हिन्दीका अनुसार ध्रुव राठीका एक निकटस्थ र गुरुग्राम प्रहरीले उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् । उनका निकटस्थका अनुसार ध्रुव राठीलाई गुरुग्रामको सेक्टर–५६ बाट नियन्त्रणमा लिइएको हो ।
यसअघि शुक्रबार साँझ ध्रुव राठीले सामाजिक सञ्जालमा एउटा रिल पोस्ट गरेका थिए । भिडियोमा उनी इन्डिया गेटअगाडि घुमिरहेको देखिन्छन् ।
भिडियोमा ध्रुव राठीले भनेका छन्, ‘म दिल्ली आइपुगेको छु । मैले प्रधानमन्त्रीले ५० भन्दा बढी मेट्रो स्टेसन बन्द गरेको, धेरै रेल र बस रद्द गरिएको देखेँ । प्रदर्शनका कारण दिल्लीलाई लकडाउनमा राखिँदै छ ।’
उनले थप भनेका छन्, ‘मलाई बुझ्न गाह्रो भइरहेको छ, मोदीजी के गरिरहनुभएको छ ? एकातिर तपाईंको आईटी सेलका मानिसहरू हाम्रो प्रदर्शनमा कोही पनि सहभागी हुँदैनन् भनिरहेका छन् । यदि भिड नै आउँदैन भने यी सबै किन गरिरहनुभएको छ ? मलाई त तपाईं डराउनुभएको जस्तो लाग्छ । वास्तवमा पूरै जनता जागिसकेका छन् ।’
यसैबीच, प्रदर्शनमा सहभागी हुन भेला भइरहेका केही प्रदर्शनकारीलाई पनि दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ ।












