काठमाडौँ — समस्याग्रस्त सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड (पुल्चोक) को नियन्त्रणमा लिइएका सम्पूर्ण सम्पत्ति तथा व्यवसाय लिलाम बिक्रीको प्रक्रिया आधिकारिक रूपमा अघि बढेको छ। बागमती प्रदेश सरकारबाट समस्याग्रस्त घोषित यस सहकारीका पीडित बचतकर्ताहरूको रकम फिर्ता गर्ने उद्देश्यले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ३५ दिने सार्वजनिक सूचना जारी गरेको हो।
समितिले जारी गरेको सूचना अनुसार लिलाम बिक्रीमा ललितपुर महानगरपालिका–३ स्थित सुमेरु सिटी अस्पताल प्रा.लि. सहित राजमाया महर्जनको नाममा रहेका जग्गा, भवन र संरचनाहरू समावेश छन्। त्यसैगरी, बायोमेडिकल इन्जिनियरद्वारा मूल्याङ्कन गरिएका अस्पतालका आधुनिक उपकरणहरू, सुमेरु अस्पताल र शङ्खरापुर कलेजको सञ्चालन अनुमति पत्र (लाइसेन्स) तथा कलेजका शैक्षिक कार्यक्रम र चल सम्पत्तिहरूसमेत लिलाम सूचीमा राखिएका छन्।
इच्छुक व्यक्ति, फर्म वा कम्पनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्र फाराम रु. ३,००० भुक्तानी गरी अनामनगरस्थित समितिको कार्यालयबाट प्राप्त गर्न सकिनेछ। बोलपत्रदाताले आफूले कबोल गरेको रकमको १० प्रतिशत धरौटी राष्ट्रिय वाणिज्य बैंक, पुतलीसडकस्थित समितिको खातामा जम्मा गरी भौचर संलग्न गर्नुपर्ने प्रावधान राखिएको छ।
प्राप्त बोलपत्रहरू ३५ औँ दिनको भोलिपल्ट दिउँसो १:०० बजे खोलिनेछन्। समिति अनुसार सम्पूर्ण सम्पत्ति ‘जे जस्तो अवस्थामा छ’ (As is where is basis) सोही अवस्थामा खरिद गर्नुपर्नेछ भने दर्ता, नामसारी, र कर सम्बन्धी सम्पूर्ण दायित्व खरिदकर्ता स्वयम्को हुनेछ। लामो समयदेखि रकम फिर्ताको पर्खाइमा रहेका बचतकर्ताहरूका लागि यो कदमले आशा जगाएको छ।













